पदभार ग्रहण गर्नासाथ सञ्चारमन्त्री गुरुङ कर्मचारीलाई प्रतिफल आउने काम गर्न निर्देशन



काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ ।

 

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उहाँले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गर्नुभएको छ ।

 

मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउने गरी क्रियाशील हुन निर्देशनसमेत दिनुभयो । ‘नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाईँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपूर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मवारी निर्वाह गर्नुहोला,’ उहाँले भन्नुभयो ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

 

उहाँ २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री रहनुभएको थियो ।

 

विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गर्नुभएको थियो ।

 

उहाँ २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुको तर्फबाट स्ववियू सचिव निर्वाचित हुनुभएको थियो ।

 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसक्नुभएका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएको हो ।

-रासस

 

Comments Box