रानीकुवामा प्रवेशद्वार निर्माण सुरु



बेंसीशहर नगरपालिका ३, रानीकुवामा बेंसीशहर नगरपालिकाले गाउँशहरसहितका ऐतिहासिकस्थल तथा पर्यटकीय स्थल समेट्दै प्रवेशद्वार निर्माण सुरु गरेको छ ।
बेंसीशहर नगरपालिका ३, ४ र ५ को प्रवेशद्धार रानीकुवामा निर्माण सुरु भएको प्रवेशद्धारको बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ ।
उहाँले गाउँशहर दरबार, लमजुङ कालिका, काउलेपानी होमस्टे, शान्ति स्तुपा, नाल्मा र पुरानकोट होमस्टे, पुरानकोट गढीलगायत ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुमा जाने मुख्य ठाउँमा प्रवेशद्वारनिर्माण गर्न लागिएको बताउनुभयो । प्रवेशद्धारले ऐतिहासिक तथा पर्यटकीय ठाउँको थप प्रचारप्रसार हुने र पहिचान बढाउने विश्वास व्यक्त गर्नुभयो ।
चालु आर्थिक वर्षमा निर्माण सक्ने गरी सुरुवात गरिएको प्रवेशद्धारका लागि बेंसीशहर नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट ११ मिटर उचाइ र चौडाई ९ मिटर फराकिलो प्रवेशद्धार निर्माण गरिने भएको छ । उक्त प्रवेशद्धारमा गाउँशहर दरबार, शान्ति स्तुपालगायत ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थानहरु झल्कने चित्र अंकित हुनेछ ।
गाउँशहर प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर कार्कीको अध्यक्षतामा भएको प्रवेशद्धार शिलान्यास कार्यक्रममा बेंसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष चित्रबहादुर दनाईं, वडा नं. ४ का वडा अध्यक्ष गमबहादुर गुरुङ, वडा नं. ५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयवासिन्दालगायतको उपस्थिति रहेको बेंसीशहर नगरपालिका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।

Comments Box