बेसीशहरद्धारा अनुदानमा किसानलाई मल्टिक्रप थ्रेसर मेसिन सहयोग



बेसीशहर । बेसीशहर नगरपालिकाले अनुदानमा किसानलाई मल्टिक्रप थ्रेसर मेसिन सहयोग गरेको छ ।

नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा ५ वटा कृषक समूहहरुलाई मल्टिक्रप थ्रेसर वितरण गरेको हो । उक्त मेसिन आइतबार नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकामा एक कार्यक्रमकाबीच कृषक समूहहरुलाई वितरण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गुमानसिंह अर्यालले मल्टिक्रप थ्रेसर मेसिन कोदो गहु धान चुट्नका लागि प्रयोग गरिने भएकाले कृषक समूहलाई सहज हुने बताउनुभयो । नगरपालिकाले रैथाने बालिको संरक्षण र उत्पादन बढाउनका लागि अनुुदाना उक्त उपकरण वितरण गरेको बताउनुभयो ।

विशेष गरी हातले कोदो टिप्दा धेरै समय लाग्ने भएकाले मेसिनबाट काम गर्दा समयको बचत हुनुका साथै उत्पादन लागत समेत कम हुने उहाँको भनाई थियो ।  यसबाट कृषकको कार्यसमयमा परिवर्तन हुनुका साथै थोरै समयमा धेरै कार्य गर्न सहज हुने बताउनुभयो ।

नगरपालिकाले पालिकाभित्रका कृषक, कृषकसमूहलाई कृषि पेशामा अगाडी बढाउदै आयआर्जनमा जोड्नका लागि सहयोग गर्दै आएको बताउनुभयो । कृषि शाखा प्रमुख मिलन श्रेष्ठका अनुसार चालु वर्षको संघीय कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषि शाखाले केही महिना अगाडी कृषक समूहहरुमा मल्टिक्रप थ्रेसर वितरणका लागि आवेदन खुलाएको थियो । आवेदन परेका मध्येमा रैथाने बालीको धेरै खेती हुने तथा सम्भावना भएका ठाउँका कृषकसमूहहरुलाई प्रथामिकतामा राखेर वितरण गरिएको बताउनुभयो । शाखाले गाउँभाचोक कृषक समूह गाउँभाचोक, सृजनाशील कृषक समूह पुरानकोट, एकता बाख्रा पालन समूह पांङ्ग्रेक्यु, सुनकोट आयआर्जन समूह नाल्मा र पुमागाउँ होमेस्टे पर्यटन व्यवस्थापन समिति पुमा गरी ५ समूहलाई वितरण गरेको छ ।

शाखाले उक्त मेसिन ७४ हजार रुपैयाँमा खरिद गरी किसानलाई ३७ हजार रुपैयाँमा वितरण गरेको छ । उक्त मेसिनलाई घरमा मात्र नराखी कार्य स्थलमै लान सकिने कृषि शाखाले जनाएको छ । पेट्रोलबाट चल्ने भएकाले २ जना मिलेर सजिलै कार्यस्थलमै लान सकिने छ ।

नगरपालिकाले पालिकाभित्रका किसानलाई कृषि पेशामा आकर्षण गर्न तथा रैथाने बालीको संरक्षण र यससम्बन्धि व्यवसायीक खेतीमा जोड दिदै विभिन्न औजार, विउविजन वितरण गर्नुका साथै तालिमहरु सञ्चालन गर्दै आएको छ ।

Comments Box