बेसीशहर नगरपालिका १० बाँझाखेतमा रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोषाक सहयोग गरिएको छ । वडा कार्यालयले वडा भित्र रहेका ११ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई एकै किसिमको विद्यालय पोषाक सहयोग गरेको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको बालबालिका लक्षित बजेटबाट विद्यालय पोषाक खरिद गरी सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ । वडा नं. १० बाँझाखेतमा एक माध्यामिक विद्यालय र १० आधारभुत विद्यालय गरी ११ वटा सामुदायिक विद्यालय रहेका छन् । ११ वटा सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ५१ जना विद्यार्थीलाई विद्यालय पोषाक खरिद गरी वितरण गरिएको वडा अध्यक्ष गंगाबहादुर थापाले बताउनुभयो । वडा कार्यालयले बालबालिका लक्षित बिनियोजन गरेको १ लाख ५० हजार रुपैयाँ बजेटबाट पोषाक खरिद गरिएको उहाँले बताउनुभयो ।
विद्यालय पोषाक खरिदका जनजागृति माध्यमिक विद्यालय खासुरबेंसीका प्रधानाध्यापक नन्दराज घलेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा जनजागृति माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक कुमार अधिकारी र लेखापाल सोमकुमारी गुरुङ रहनुभएको थियो ।
सम्भवतः लमजुङमा नै पहिलो पटक बेसीशहर नगरपालिकाले १० ले सवै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई एकै किसिमको विद्यालय पोषाक उपलब्ध गराएको वडा अध्यक्ष थापाले दावी गर्नुभयो । उहाँले विकास बजेट सँगसँगै बालबालिकाका र शिक्षाको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
जनजागृति माध्यामिक विद्यालय खासुरबेसीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी ११ वटै विद्यालयका प्रधानाध्यापकलाई विद्यालय पोषाक हस्तान्तरण गरिएको छ । जनजागृति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरालाल विश्वकर्माको अध्यक्षतामा भएको कार्याक्रममा निमित्त वडा अध्यक्ष किमबहादुर गुरुङले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालय पोषाक हस्तान्तरण गर्नुभएको छ ।
यस कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यालय पोषाकमा एकरुपता आउने निनित्त वडा अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले आर्थिक अवस्था न्युन भएका तथा जेहेन्दार विद्यार्थीलाई ठुलो टेवा पुग्ने बताउनुभयो । यस्ता खाले कार्यक्रमले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकिने, अभिभावकलाई स्थानीय सरकारको भएको अनुभूति दिलाउन सकिने जनजागृति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेंसीशहर नगरपालिकाका प्रवक्ता हिरालाल विश्वकर्माले बताउनुभयो । यस कार्यले विद्यार्थीलाई विद्यालयमा नियमित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Comments Box
हाम्रा माझमा भएका समाचारमूलक थुप्रै अनलाइनहरू भन्दा हामी भिन्न छौँ । पत्रकारिताका आधारभूत मान्यतामा हामी अरुसँग समान छौँ तर, हाम्रो विषयवस्तु र शैली फरक छ। फरक सोच, फरक स्वरुप र फरक विषयवस्तुले हामीलाई भिन्न पहिचान दिएको छ।