एमाले बेसीशहर नगरपालिका कमिटी अध्यक्षमा रिमाल निर्वाचित



नेकपा एमाले बेसीशहर नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनबाट अध्यक्ष पदमा भोजबहादुर रिमाल निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदका अर्का उम्मेदवार शरद बराललाई ७१ मतले पराजित गर्दै रिमाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सोमवार भएको मतदानपछि मतगणनामा रिमालले १ सय २८ मत प्राप्त गर्नुभएको थियो । बरालले ५७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्ष पदमा इन्द्रबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदका उम्मेद्वार गुरुङले १ सय ३ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षका प्रतिस्पर्धी रामकुमार श्रेष्ठले ५४ मत र शंकरनिधी कमलीले २९ मत प्राप्त गर्नुभएको छ ।

सचिव पदमा गोविन्द खड्का निर्वाचित हुनुभएको छ । खड्काले १ सय ९ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी युवराज पौडेललाई ३६ मतले पराजित गर्नुभएको हो । पौडेलले ७३  मत प्राप्त गर्नुभएको छ ।

उपसचिवमा महिलातर्फ ९८ मत प्राप्त गर्दै सपना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी बिमला अधिकारीलाई १२ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

अधिकारीले ८६ मत प्राप्त गर्नुभएको छ । उपसचिव खुल्लातर्फ यसअघि नै शंकर बस्नेत निर्विरोध निर्वाचित हुनुभएको थियो ।

लेखा समितिको अध्यक्षमा ईश्वराज सेढार्इं निर्विरोध निर्वाचित हुनुभएको छ । लेखा समितिका सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मत परिणाम घोषणा भएसँगै प्रमुख निर्वाचन अधिकृत हिरालाल विश्वकर्माले सोमबार नै नवनिर्वाचित अध्यक्ष रिमाललाई र नवनिर्वाचित अध्यक्ष रिमालले पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

वैशाख २९ गते शुरु भएको नगरपालिका कमिटीको अधिवेशनमा नेतृत्वका लागि सहमतिको प्रयास गरे पनि पदाधिकारीमा सहमति नभएपछि सोमबार निर्वाचन गरिएको हो ।

Comments Box