लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर ६.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। तनहुँकाे डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इन्जिनियर किरण पोखरेलले बताए। यहाँ ‘अस्फाल्ट’ कालोपत्र भइरहेको छ।
हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ । सो सडकमा च्याम्बास बजारमा रहेको घरनिर र डुम्रे बजारको पुलनजिकैको भागमा नाली बनाउने काम भइरहेको उनको भनाइ छ । केही समय कालोपत्रका लागि सामग्री अभाव भएर रोकिए पनि केही दिनअघिदेखि कालोपत्रको काम सुरु भइरहेको र तीव्र रूपमा अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कालोपत्र गर्न बाँकी रहेको अधिकांश भागमा पनि तह मिलाउने कार्य सम्पन्न भएको छ। तनहुँको डुम्रे बजारबाट लमजुङतर्फ निर्माणाधीन यस सडक राजमार्गको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’सहित १५–१५ मिटरको हुने भएको छ। त्यस्तै, १०–१० मिटरको लगतकट्टा भइसकेको छ। अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बनिरहेको उक्त कार्यालयले जनाएको छ। यसअघि ३.७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा सात मिटरको हुनेछ।
त्यस्तै, दायाँबायाँ एक–एक मिटरको ‘सोल्जर’ तथा एक–एक मिटरको नाली निर्माण भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम ०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले ०७७ वैशाख २२ गते सम्झौता गरेको थियो। तर, निर्धारित समयमा काम सम्पन्न हुन सकेन। पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने इन्जिनियर पोखरेलले बताए।
च्याम्बासका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणले समेत निर्माणमा ढिलाइ भए पनि यतिवेला सबै समस्याको समाधान भएको बताइएको छ। कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ। डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटरको दूरीमा रहेको छ। यस सडकको तनहुँ–डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटरको छ। सडकका लागि भ्याटबाहेक रु. ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु. ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ।
छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट ०२९ मा खन्न सुरु गरिएको बेँसीसहरसम्मको ४२ किलोमिटर सडकको काम सक्न करिब साढे एक दशक लागेको थियो। ०४६ मा ट्र्याक खुलेसँगै ०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो। सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो। डुम्रे–बेँसीसहरको सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासीसमेत आवतजावत गर्दछन्।
सडक दुई लेन भई कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यात्रा थप सहज हुनुका साथै समयसमेत घट्नेछ । उक्त स्थानमा मात्र नभई डुम्रेदेखि बेँसीसहरसम्ममै दुई लेनको सडक निर्माण गरेर कालोपत्र गरेमा यात्रा झनै सहज हुने स्थानीयवासीको भनाइ छ ।
लमजुङका स्थानीयवासी यातायातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ल्याउनेसमेत गर्दथे । त्यस्तै, काठमाडौं, पोखरा जानुपर्दा यहाँका स्थानीयवासी हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेका थिए । उक्त बाध्यता हटे पनि अझै यात्रा भने सहज हुन सकेको छैन । अहिले सडक ट्र्याक खुलेर एक लेनबाट पनि दुई लेन हुँदै छ ।
रासस