सडकले सहज बन्दै कालभैरवको यात्रा



गलकोट (बागलुङ)। कुनै सयम बागलुङ सदरमुकामदेखि मुस्किलले दुई घन्टामा पुगिने बलेवा कालभैरव मन्दिरमा अहिले एक घन्टामै पुगिन्छ । चार किमी सडक कालोपत्र र तीन किलोमिटर सडक स्तरोन्नति गरिएसँगै अहिले भैरवस्थापनसम्मको यात्रा समय छोटिएको हो ।

 

 

सडक स्तरोन्नति भएसँगै भैरवस्थानमा अहिले जिप, बस र ट्याक्सीसमेत पुग्न थालेको छ । पहिला धेरै भक्तजन हिँडेरै भैरवस्थान आउने गरेका थए ।

 

 

सडक बने पनि व्यवस्थित नहुँदा भक्तजनलाई निकै समस्या बनाएकामा अहिले भैरवस्थान आउने सडक स्तरोन्नतिसँगै ट्याक्सी र बससमेत आउन थालेको भैरवस्थानका देवीप्रसाद पाठकले बताए ।

 

 

“अहिले भक्तजन हिँडेर आउने कुरा भएन, सडक दुई वर्षअघिसम्म राम्रो थिएन, घरमुनि सवारीसाधन फसेर हैरान बनाउथ्यो, मन्दिर आउनै मुस्किल भएपछि भक्तजन कम आउन थालेका थिए”,उनले भने, “अहिले त ट्याक्सी र कारसमेत आउन थालेको छ आधाभन्दा धेरै बाटो त कालोपत्र भइसक्यो, सडक नै विकासको मुख्य ढोका रहेछ, अहिले भैरवस्थानको महिमा सडकका कारण ह्वात्तै बढेको छ ।”

 

 

जलकिनी घुम्तीदेखि जलजला हुँदै भैरवस्थान पुग्ने नौ किलोमिटर सडकमध्ये अहिले चार किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप दुई किमी सडक कालोपत्रका लागि ठेक्कामा गएको छ, अन्य तीन किमी सडकसमेत मर्मत गरिएको छ ।

 

 

विसं २०७९ मा जलकिनी घुम्तीबाट जलजलासम्म तीन किमी सडक नेपाल सरकारको समपूरक अनुदान र बागलुङ नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको थियो ।

 

 

सङ्घीय सरकारको ६० प्रतिशत र बागलुङ नगरपालिकाको ४० प्रतिशत साझेदारीमा उक्त सडक रु छ करोड नौ लाखमा कालोपत्र गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए ।

 

 

नगरपालिकाले लगानी गरेर कालोपत्र गरेको हालसम्मकै धेरै बजेटको सडक भैरवस्थान जाने सडक रहेको जानकारी दिँदै उहाँले सो सडकलाई भैरवस्थानसम्मै पुराउन पहल भइरहेको जानकारी दिए ।

 

 

 

 

गत वर्ष सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत रु ७९ लाख ६८ हजारमा एक किमी सडक कालोपत्र र स्तरोन्नति गरिएकामा चालु आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेर ठेक्कामा दिन लागिएको छ ।

 

 

 

 

उक्त बजेटबाट चालु आर्थिक वर्षमै ओखरबोटदेखि धापा खोलासम्म दुई किमी सडक कालोपत्र गरिनेछ । धापाखोलादेखि भैरवस्थानसम्मको बाँकी तीन किमी सडक मर्मत गर्न गण्डकी प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको प्रदेश सदस्य कृष्ण पाठकले जानकारी दिए ।

 

 

 

 

सङ्घीय सरकारले निरन्तर बजेट विनियोजन गरिरहेकाले भैरवस्थानसम्म दुई वर्षमै सडक कालोपत्र गरिने विश्वास व्यक्त गर्दै उनले प्रदेश सरकार पनि सराङ्गीदेखि भैरवस्थान पुग्ने सडक कालोपत्रका लागि बजेट विनियोजनको तयारीमा रहेको बताए ।

यो सडक कालोपत्र भएमा भैरवस्थान मन्दिर राष्ट्रिय राजमार्गसँग जोडिने छ । धार्मिक पर्यटकीय क्षेत्र भैवस्थानलाई बागलुङ बजारसँग कालोपत्र सडकले जोड्ने योजना आगमी दुई वर्षभित्रै पूरा हुने भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।

 

 

 

 

अहिले सडकले सहज गराएपछि भैरव स्थानमा शनिबार र मङ्गलबार दर्शनार्थीको भीड लाग्ने गरेको छ । छ वर्षदेखि व्यवस्थापन समिति नभएको भैरवस्थान मन्दिरमा आठ महिनाअघि व्यवस्थापन समिति बनाइएको छ । नयाँ समितिले पूर्वाधारको काममा तीव्रता दिएको समितिका अध्यक्ष ढकालको भनाइ थियो ।

 

 

भैरवस्थान मन्दिर वरपर तारबार गर्ने तथा व्यवस्थापन समितिको कार्यालय निर्माण गर्ने कार्य अहिले भइरहेको र सडक सहज बनेपछि यहाँ आउने भक्तजन बढेकाले तिनका लागि आवश्यक पूर्वाधार थपिन थालेको उनले जानकारी दिए । भक्तजनका सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।

 

 

भैरवस्थान मन्दिर पुग्ने सडक सहज बनेपछि मूलाबारी, पर्यटकीय गाउँ भकुण्डे र भकुण्डे भ्यूटावरलगायत पर्यटकीय क्षेत्रमा पुग्न पर्यटकलाई सहज भएको छ ।

Comments Box