अबको बिध्यार्थी आन्दोलन यस्तो होस् ।



विगतका केही समयदेखि बिद्यार्थी आन्दोलन निकै फितलो देखिएको छ । कारण – राजनैतिक दलको पोल्टोमा घुस्रिएर बिध्यार्थीहरु हिंसात्मक मानसिकतामा आफूलाई अघि बढाईरहेका छन् । जस्को प्रभाव आन्दोलनको मूल उदेश्यमा परिरहेको छ । अहिले हरेक कलेज तथा क्याम्पसका बिध्यार्थी मनमा एउटै प्रश्न   छ कि पुग्यो हिंसात्मक आन्दोलन अब हामीलाई वैचारिक , सृजनशील र रचनात्मक आन्दोलनको खाँचो छ । म चाहन्छु अबको बिध्यार्थीले आन्दोलन वास्तवमा के हो  बुझोस् ,आन्दोलन के का लागि बुझोस्  यस्ले हामी बिध्यार्थीलाई के फाईदा  बुझोस् , अहिंसात्मक आन्दोलन कसरी गरिन्छ  बुझोस्  र बुझोस् पढ्नु बिध्यार्थीको पहिलो कार्य हो तर केवल पढ्नु मात्र उस्को सबै कार्य हैन ।जसरी एउटा सामान्य साक्षर किसानले बुझ्छ , आफ्नो पेट पाल्नु उस्को पहिलो उदेश्य हो तर आफ्नो मात्रै पेट पाल्नु उसको सबै उदेश्य हैन , उस्ले आफ्नो बाल-बच्चा र जहानको पनि पेट पाल्नुपर्छ । बिध्यार्थी आन्दोलन फेल भईरहेको छ कारण अहिले धेरै बिधार्थीहरु केवल आफ्नो करियरमुखि छन् । उनीहरुलाई आउँदो बिध्यार्थीहरुको भविष्यको चिन्ता छैन । त्यसैले प्रत्येक बिध्यार्थीलाई चुनौति यो छ कि आन्दोलनमा संलग्न हरेक व्यक्तिलाई आन्दोलनको मूल मर्म के हो अवगत गराईयोस् । आन्दोलन किन हुदैछ  ? कस्का लागि हुँदैछ ? र त्यसमा आफ्नो भूमिका के छ ?  मनन् गराईयोस् । कति बिध्यार्थी आन्दोलन भन्नासाथ हिंसाको नजरले हेर्छन् , उनीहरुलाई यो कुराको जानकारी गराईयोस् कि आन्दोलन वैचारिक पनि हुन्छ , सृर्जनशील पनि हुन्छ ।

सृजनशील  र वैचारिक आन्दोलनका निम्ति प्रत्येक संगठनले सम्पूर्ण बिध्यार्थीलाई सामाजिक संन्जालको भरपुर प्रयोग गर्न लगाओस् । भ्रष्ट सिस्टमको दुरुस्त अनुहार सामाजिक संन्जालको भित्ता भित्तामा पोष्ट हान्न लगाओस् । शैक्षिक माफिया विरुद्ध , भ्रष्ट सिस्टम विरुद्ध ठाउँठाउँमा विभिन्न सडकनाटकको माध्यमबाट, बिध्यार्थीवादी गितको माध्यमबाट, फेसबुक ईभेन्टको माध्यमबाट, ट्रोलको माध्यमबाट वा सेमिनारहरुको माध्यमबाट यी सम्पूर्ण शैक्षिक भ्रष्टहरुको नीति र आजसम्मको गतिविधि धेरै भन्दा धेरै जनता हरुमाझ पुराउन लगाओस् ।  जसबाट Early Adopters हुँदै Laggards सम्म कुरा पुग्न सफल होस् । ठाउँठाउँमा शैक्षिक माफियाविरुद्ध जुलुस निकाल्न लगाओस्  र त्यो जुलुस त्यस्तो होस् जस्को हिम्मत र हौसला यति बुलन्द होस् कि पुलिसको लाठीचार्ज र असुर ग्याँसले त्यसलाई बिच्काउन नसकोस् । साथसाथै जुलुसले यो कुरा नबुझोस् कि भिडको अनुहार हुँदैन , भिडले जे गर्दा पनि फरक पर्दैन  बल्कि यो बुझोस् कि टायर बालेर मात्र आन्दोलन हुँदैन। , सिसा फोडेर मात्र आन्दोलन हुँदैन । यस्ता बिरोधका आक्रोसित गतिविधिहरुले शैक्षिक माफियाहरुलाई थप जिस्काउने र एकजुट गराउने काम गर्छ । मानौँ मच्छ्छडहरुको टोली तिम्रो कोठामा छ , यदि तिमी आक्रोसित भएर सबै मच्छडहरु मार्न खोज्छौ भने एउटा मर्ला अर्को आउँछ त्यो मर्ला अर्को झन तयारीका साथ आउँछ तर त्यहीँनेर यदि तिमी वैचारिक ढङ्गबाट कोठामा मच्छड धुप बाल्छौ भने सबै मच्छड एकैचोटि भाग्छन् । मतलब शैक्षिक माफियाहरु त्यस्ता मच्छडहरु हुन् जो जति जिस्काउँछौ त्यति आउँछन् तर एकचोटि मेसो मिलाएर वैचारिक ढङ्गबाट भगाउ , अवश्य भाग्छन् । हो जुलुसले यो कुरा बुझोस् । साथै आन्दोलनको कुनै न कुनै मोडमा गएर एकचोटी भिड छाँटिन सक्छ , बिचारमा दुईमत आउन सक्छ , भेटिनै लागेको उदेश्य पनि निकै टाढा देखिन सक्छ , त्यस्तो समयमा बिध्यार्थीले हरेस नखाउन् , उनिहरुलाई ज्ञात गराईयोस् कि २००७ सालमा डिबेट क्लबहरुमार्फत भएको राणाविरोधी आन्दोलन, २०४६।४७ को जनआन्दोलन भाग १ मार्फत पञ्चायती व्यवस्थालाई लडाउँदा र जनआन्दोलन भाग २ मार्फत राजतन्त्रको विधिवत अन्त्यमा बिध्यार्थी पूर्खाहरुको भूमिका के थियो  प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आन्दोलनमा संलग्न हरेक व्यक्तिले आफ्नो भूमिका नबुझेसम्म , निर्वाह नगरेसम्म कुनै पनि आन्दोलन सफल हुन सक्दैन । किनकी बिध्यार्थी आन्दोलन कुनै ब्रतबन्ध हैन? जस्मा मन्त्र केवल बाहुन र ब्रतबन्ध भईरहेको मान्छेलाई मात्र थाहा हुन्छ बल्कि आन्दोलनमा संलग्न हरेक टाउकोलाई थाहा होस् कि आन्दोलनको मूल मन्त्र के हो?  यस्मा आफ्नो भूमिका के हो ? यस्को लागि आन्दोलनको नेतृत्व त्यस्तो मान्छेले गरोस् जस्ले हरेक व्यक्तिलाई आन्दोलनको विषय बुझाउने क्षमता राख्छ  बिध्यार्थी र देशको शैक्षिक भविष्यको लागि मनैदेखि साहस र गर्नुपर्छ भन्ने भावना जगाउन सक्छ । तर आन्दोलनको नेतृत्व त्यस्तो मान्छे वा अपरिपक्व बिध्यार्थी नेताले कदापि नगरोस् जो राजनैतिक दलको नेताहरुको बुई चढेर आएको छ , जस्ले समाज र देशको शैक्षिक पद्धतिलाई नजिकैबाट नियालेको छैन । भनिन्छ नि , एउटा भेडाले तालिम दिएको सयवटा सिंहको फौजभन्दा एउटा सिंहले तालिम दिएको सय वटा भेडाको फौज घातक हुन्छ ।

यति मात्र हैन अबको बिध्यार्थी आन्दोलनले पनि प्रत्येक बिध्यार्थीको ईच्छा बुझोस् , मर्म बुझोस् , गुनासो मनन गरोस् ।आन्दोलन बिध्यार्थीकै हक अधिकार सुनिश्चित गर्नका लागि हो भन्ने प्रमाणित गरोस् । हो अबको बिध्यार्थी आन्दोलन यस्तो होस् कि घोषणा हुनासाथ हरेक शैक्षिक माफियाहरुको ढुकढुकी रोकियोस् अनि हरेक बिध्यार्थीको मुहारमा आशाको मोटो धर्सो सलबलाईरहोस् ।

– लेखक,सागर खड्का अध्यक्ष, अनेरास्ववियु लमजुङ्ग ।

लेखक,राइपाली भन्ज्याङ ( उपन्यास )

Comments Box