पोखराको प्याराग्लाइडिङ उडान ठप्प

३९० पाइलटमध्ये तीन सयले प्याराग्लाइडिङ उडान



असोज २४ गते । लगातारको झरीका कारण पोखराको प्याराग्लाइडिङ उडान ठप्प भएको छ ।

 

दशैँका बेला बिदामा पोखराको पर्यटनमा प्याराग्लाइडिङका निकै उडान हुने गरेकामा यस पटक भने झरीले पोखरा घुम्न आएका पाहुनाको हिँडडुल नै रोकिँदा समग्र पर्यटन व्यवसायी नै व्यवसायविहीनजस्तै भएका छन् । पोखरा आएर प्याराग्लाइडिङ गर्ने आन्तरिक पर्यटक झरीका कारण उड्न पाएनन् ।

 

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ तथा अल्ट्रालाइट उडानका बुकिङ पनि रद्द गर्नु परेको बताउनुभयो ।

 

“यो पटक दशैँको दिन मात्रै करिब डेढ सयजति बुकिङ थियो । झरीले पूरै बिगा¥यो, दशैँको बेला एउटा पनि प्याराग्लाइडिङ उडान हुन पाएन,” उहाँले भन्नुभयो । उहाँले पूर्णिमाको दिन (आइतबार) भने मौसम केही खुलेकाले केही उडान सुचारु भएको जानकारी दिनुभयो ।

 

 

पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी संस्थामा आबद्ध छन् । ३९० पाइलटमध्ये तीन सयले प्याराग्लाइडिङ उडान गर्छन् ।

 

सराङकोटको डाडाँबाट उडेर फेवाताल किनारमा अवतरण हुने गरी पोखरामा प्याराग्लाइडिङ उडान हुँदै आएको छ । नजिकैका तोरीपानी र मान्द्रेढुङ्गाबाट पनि व्यवसायीले उडान सञ्चालन गर्ने गरेका छन् ।

 

 

पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको थियो ।

Comments Box