बाटोमै मृत बच्चा जन्माइन नर्मताले

३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको



बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगे । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाइन्। भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किइन् ।

 

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन् । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् । उनले विकको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइन्।

 

अनमी बुढामगर भन्छिन्, ‘विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।’

 

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन् । ‘दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्’, उनले भनिन्, ‘धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।’ विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउछन् । अहिले उनको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

 

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउछन् ।

 

ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ । ‘धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उनले भने्, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।’

 

ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताए । ‘कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो’, उनले भने । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताए ।


३१ जेष्ठ २०७९, मंगलवार

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु

कालिकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

 

पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालिकोट ल्याएका थिए ।

 

पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा.रत्नवीर सुनारले बताए ।

 

पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर, बचाउन नसकिको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी सिद्धराज न्यौपानेले बताए ।

 

यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ ।


१६ फाल्गुन २०७७, आईतवार

प्यूठानमा एक सुत्केरीको मृत्यु

प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ ।

 

झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिनुभयो । ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो ।

 

उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताउनुभयो । नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।

 

मृतकका आफन्तले अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच यस विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुसालले जानकारी गराए ।

Comments Box