एक लाख राशिको गजल प्रतियोगिता हुँदै

राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा गजल प्रतियोगिता



काठमाडौं, १२ साउन: अन्तर्राष्ट्रिय युवा दिवस (१२ अगस्ट)को अवसरमा एक लाख रुपैयाँ राशिको नेपाली गजल प्रतियोगिता आयोजना गरिने भएको छ ।

 

राष्ट्रिय युवा परिषद्को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाममण्डलीको सहकार्यमा गजल प्रतियोगिता गर्न लागिएको हो ।

 

परिषदले जानकारी दिएअनुसार विश्वभर रहेका नेपाली गजल लेखिरहेका स्रष्टाहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

 

परिषदकी सङ्घसंस्था समन्वय प्रमुख चन्द्रा थापाका अनुसार हरेक वर्ष परिषदले अन्तर्राष्ट्रिय युवा दिवस सप्ताहव्यापी रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि युवा लक्षित विभिन्न सिर्जनात्मक कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाउन लागिएको उनले बताइन् ।

 

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष एवं प्रतियोगिता संयोजक घनेन्द्र ओझाले राज्य तहबाट नेपाली गजलका लागि गरिएको प्रयास सराहनीय भएको भन्दै अन्य प्राज्ञिक, साहित्यिक निकायहरूले पनि गजल समबद्ध सम्मेलन, महोत्सव, गोष्ठी र कार्यशाला गर्नुपर्ने बताए ।

 

प्रतियोगिताका लागि २० साउनभित्र गजलहरू परिषदले दिएको ईमेल एनवाईसी२०२२२जीमेलडटकम वा परिषदको कार्यालय सानोठिमी, भक्तपुरमा उपलब्ध गराइसक्नुपर्ने जनाइएको छ ।

 

२५ साउनमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा छनोटमा परेका गजल वाचन गराइने र २७ साउनमा आयोजना गरिने अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा विजयीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले जानकारी दिए ।

 

विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार,  ३० हजार, २० हजार र १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने परिषदले जानकारी दिएको छ ।

Comments Box