ईतिहास देखी वर्तमान सम्म; राजनीतिक परिदृश्यमा मनाङ जिल्ला



सन् १८१६ को सुगौली सन्धी पछि नपाललाई १० जिल्लामा विभक्त गरिएको पाईन्छ। प्रधानमन्त्री वीर शमशेरका पालामा ( १८८५-१९०१ ) मा नेपाललाई ३२ जिल्लामा बांडियो। यो बिभाजनले पहाडमा २० र तराईमा १२ गरी ३२ वटा प्रशासनिक ईकाई बनाईएको पाईन्छ।

 

फोटो: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो विभाजनको प्रारूप २०१८ सम्म थियो तर २०१८ मा नेपाललाई १४ अंचल र ७५ जिल्लामा विभाजन गरियो। २०१८ साल भन्दा अगाडिको विभाजनमा नेपालका प्रादेशिक विभाजनलाई गढी, गौंडा र गोश्वारा गरी तीन तहमा राखिएको थियो। त्यति बेला डोटी, पाल्पा र धनकुटा गरी तीन बटा गौंडाबाट प्रशासन चलाईन्थ्यो। २०१८ साल भन्दा अगाडि मनांग र हालको लमजुंग जिल्ला एउटै ईकाईमा थिए। त्यसैले मनांगको राजनीतिमा लमजुंगको प्रभाव परेको थियो। त्यति मात्र हैन मनांग पृथक जिल्ला हुदा समेत लमजुंगका सुब्बा खलकले मनांगको नामबाट राजनीति गर्दथे।

 

 

तत्कालीन राजा स्व. महेन्द्रको देश दौडाहका क्रममा मनांग भ्रमणमा हुदा उपल्लो मनांगका वासिन्दाले सो ठाऊको भौगोलिक असुविधाहरूका बारेमा राजा महेन्द्रलाई जानकारी गराउदा ती समस्याहरूको समाधानार्थ मनांगेहरूलाई झिटीगुण्टाको नामबाट सहुलियत ब्यापार गर्न मिल्ने गरी केही सुविधा प्रदान गरियो। यसको आसय के भने मनांगवासीले समुन्द्रपारबाट ल्याएका सामानमा भन्सार छुट दिने भन्ने निर्देशन भएछ र त्यसैका आधारमा बैंकक, हंगकंगबाट ब्यापारिक सामान काठमांडौ ल्याएर ब्यापार ब्यबसाय गर्ने गरेबाट यिनीहरूको पेशाले ब्यापारिक रूप लियो र यसले यिनीहरूको आर्थिक स्तर उकालो पनि लाग्यो। यसरी तत्कालीन राजा महेन्द्रलाई यिनीहरूले एक आदर्श ब्यक्ति मान्दै गर्दा यसको अशर राजनीतिमा पनि पर्न गयो। यसरी तत्कालीन राजा महेन्द्रबाट प्राप्त भएको सुविधाको फाईदा मनांगको माथिल्लो भेगले मात्र लिन सक्यो र तल्लो भेगका मनांगेले यस बाट जति लाभ उठाउन सक्थे त्यति उठाउन सकेनन्।

 

जव २०३६ सालमा बहुदल र निर्दल बीचको जनमत संग्रह भयो त्यस बेला पनि माथिल्लो भेगबाट मुस्किलले मात्र बहुदलको पक्षमा मतदान भयो। सुधारिएको पंचायतमा बहुमत आए पछि त्यसको राजनीतिक फाईदा निश्चय पनि माथिल्लो भेगको राजनीतिमा पर्यो।

 

माथिल्लो भेग निश्चय पनि बढी जनसंख्या भएको क्षेत्र हुदा स्वभावैले पनि मतदाताको संख्या माथिल्लो भेगमा बढी नै हुने भयो र त्यसको अशर चुनावमा पर्ने नै भयो। त्यसैले हरेक आवधिक निर्वाचनमा माथिल्लो भेगबाट एउटा मात्र उम्मेद्वार भयो भने उसैको विजय निश्चित जस्तै हुने भयो। त्यसो हुदा मनांग जिल्लामा भएका विगतका निर्वाचनहरूमा २०७४ को प्रतिनिधिसभाको चुनाव बाहेक अन्य चुनावहरू करीव करीव निर्विरोध निर्वाचित हुने परम्परा जस्तै बन्यो।

 

वर्तमान अवस्थाः-

हालै प्रकाशित प्रारम्भिक जनगणनाले मनांगको जन संख्या ५,६४५ भएको जनाएको छ । भेगीय हिसाबले बिभाजन गर्ने हो भने चामे सदरमुकाम भन्दा माथि ६०%, चामे र तल्लो भेगमा ३०% र नार र फू मा १०% करीव हुन आउछ। यसैले मतदाताको संख्याको हिसावले जुन सुकै चुनावमा पनि माथिल्लो भेग निर्णायक हुन्छ।

 

माथिल्लो भेगको जनता स्वभावैले ब्यापारमा लाग्ने हुदा देश विदेशको अनुभव संग नजिक छन्, निश्चय पनि माथिल्लो भेगमा प्रति ब्यक्ति आय बढी छ । यसैले स्वास्थ्य र शिक्षामा पनि यो भेगका बासिन्दा अगाडि छन्। किनभने अधिकांश ब्यक्ति प्रायः सुगम र शहरबजारमा बसोबास गरेको हुन्छ। तर तल्लो भेगमा बस्नेहरूमा निश्चय पनि स्थानीय समाज र समस्या संग एकाकार हुदा हुदै पनि यिनीहरूको शिक्षा दीक्षा केही कमजोर नै छ। किनभने दुर्गमका विद्यालय त्यही माथि सामुदायीक भए पछि निजी र शहरी क्षेत्रका विद्यालय संग यहांका विद्यालयको तुलना हुन सक्दैन। त्यसै गरी देशको राजनीति संग तल्लो भेगका वासिन्दा नजिक हुदा हुदै पनि कम मतदाता भएको भेग हुनाले यहांबाट केन्द्रमा प्रतिनिधित्व हुन सकेको पाईदैन। यस भेगबाट राजनीति गर्नेहरू कोही कोही अन्य जिल्लाबाट उठेर केन्द्रमा गएका छन्।

माथिल्लो भेगबाट केन्द्रमा प्रतिनिधित्व हुदा पंचायती कालमा जिल्लाको राजनीतिमा केही समय तल्लो भेगबाट नेत्तृत्त्व गरेको पनि पाईएको थियो तर त्यो तल्लो भेगका कारणले नभएर माथिल्लो भेग प्रतिस्पर्धामा नगएका कारणले प्राप्त भएको हो भन्न सकिन्छ।

यो जिल्ला लोकतन्त्र, आवधिक निर्वाचन, नागरिक स्वतन्त्रतामा विश्वास राख्नेहरूको अधिक्यता भएको जिल्ला हो। यो जिल्लाका वासिन्दाहरूले राजनीतिक प्रतिबद्धतालाई भन्दा आफ्नो समाज, सम्बन्ध, बन्धुत्व, नातागोता आदिलाई महत्व दिने गर्छन्। यहां एउटै घरको मत पनि बिभाजन हुन सक्छ। राजनीतिका कारणले मात्र आफूहरू बीचको सम्बन्ध बिगार्न चाहदैनन्। यसैले यिनीहरू बढी भावनात्मक हुन्छन्। यहांको राजनीतिक परम्परा यस किसिमको रहेको छ।

यस जिल्लामा राजनीतिलाई विकास संग समान्जस्य गरेको पाईन्छ। झनै हालको संघीयताले त सरकारलाई घर घरमा अनुभूति गर्न पाएका छन् मनांगवासीले। केन्द्र र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद र जिल्लाको नेत्तृत्त्व गर्ने संयोजकको तुलनामा पालिकाको अध्यक्ष नै बढी कृयाशील रहेको पाईन्छ र कतिपय कार्यमा त वडा अध्यक्ष समेत पनि वडाको विकास निर्माणमा एक आधिकारिक पदाधिकारी बन्न पुग्छ।

 

केही हांकहरूः

तर यति हुदाहुदै पनि यो जिल्लाको राजनीतिले केही हांक (Challenges) को सामना गर्नु परेको छ। पहिलो कुरा यहांको राजनीति सन्तुलित छैन। किनभने यस जिल्लाको केन्द्रीय राजनीतिमा माथिल्लो भेग हावी छ। तल्लो भेगबाट केन्द्रको नेत्तृत्त्व मतदानबाट पुर्याउन करीब असम्भव जस्तै छ। किनभने माथिल्लो भेगका मतदाताले तल्लो भेगका उम्मेद्वारलाई मतदान गर्न मान्दैनन्।

यहांको समाजले राजनीतिलाई भन्दा सामुहिकता र नाता गोतालाई बढी महत्व दिने गरेको पाईन्छ। आफ्नो र उम्मेद्वारको राजनीतिक विचार फरक परेको भए पनि आफ्नो नाता भित्रको परेमा उसको पक्षमा मतदान गर्नु सामान्य जस्तै मानिन्छ।

यस्तै यहाका वासिन्दाहरू मौसमी तवरले स्थानान्तर हुने गर्छन। किनभने जाडो छल्न गर्मी स्थान तिर जानु पर्ने हुन्छ र कतिपयले त काठमांडौ पोखरा तिर ब्यवसाय गरेर बसेका पनि हुन सक्छन्।

 

आफ्नो घर कसैलाई जिम्मा लगाएर बाहिर जानेहरू जन गणनाका बेला अनुपस्थित हुन सक्छन्

जन गणनाको परिणाम निस्कदै गर्दा कतै छापामा प्रकाशन हुदै थियो कि मनांगमा जनसंख्या भन्दा मतदाता बढी देखियो भनेर। खास यसमा के भएको हुन सक्छ भने आफ्नो घर कसैलाई जिम्मा लगाएर बाहिर जानेहरू जन गणनाका बेला अनुपस्थित हुन सक्छन् तर तिनीहरूको नाम मतदाता नामावलीमा भने रही रहेको हुन सक्छ। धेरै जनसंख्या र मतदाताहरू भएको ठाऊमा यस्तो कुरा ख्याल नहुने भए पनि मतदाता र जनसंख्या कम हुने मनांग जस्तो ठाऊमा यो विषय पेचिलो बन्न सक्छ। यसैले यस्तो हुनु अस्वभाविक हैन। मतदाताको काममा अनिवार्य सरीक हुनु परे जस्तै जन गणनामा पनि अनिवार्य उपस्थिति हुनु परेको भए यो समस्या आउने थिएन।

 

विगतमा जे जस्तो भए पनि वर्तमानमा यूवाहरूमा समेत राजनीतिक चासो बढ्दै छ। स्थानीय तहमा यूवाहरूको सहभागिता उल्लेख्य छ। राजनीतिको परम्परागत सोचमा परिवर्तन आउन थालेको पाईएको छ। राजनीतिलाई पेशा बनाउनेहरू पछाडि धकेलिदै छन्। आफू भेडी गोठालो भएर पनि राजनीति गरेका यूवाहरू भेटिन थालेका छन् जुन राम्रो संकेत हो। यस्ता युवाहरू राजनीतिमा सरीक हुने वातावरण वन्दै गयो भने राजनीति समाजसेवाको भर पर्दो माध्यम बन्न सक्छ।

Comments Box