राष्ट्रियसभा सदस्य निर्वाचन २०७८; एमालेलाई गठबन्धनको पनि भोट, गण्डकीमा सांसद नै विपक्षमा !



गण्डकीमा एमालेको जम्मा मतभार २५५६ थियो । तर लिला पोखरेल थनैतले २७२४ मत पाइन् भने पुन्य पौडेलले २६९० र अर्जुन कुमार सुनामले २७२४ मत पाए । यहाँ एमालेले उल्लेख्य मत बृद्धि गरेको देखिन्छ । दुई जना प्रदेश सभा सदस्यहरूले फ्लोर क्रस गरे । प्रदेशसभा सदस्यले मात्रै होइन यहाँ स्थानीय तहका जनप्रतिनिधिहरुले पनि पार्टीको निर्देशन भन्दा बाहिर गएर मतदान गरेका छन् ।

 

बागमती प्रदेशमा प्रदेश सभा तर्फ गठबन्धनका उम्मेदवारले ५९ मत पाउनुपर्ने हो । तर, गठबन्धनका दुवै उम्मेदवारले ५६ मत मात्रै ल्याए । गठबन्धनकै ३ जनाले एमालेलाई भोट दिएको पुष्टी भएको छ ।

 

सुदूरपश्चिम प्रदेशमा गठबन्धनमा नेकपा एस, माओवादी कांग्रेस र जसपा मिल्दा ४० जना हुन आउँछ । तर गठबन्धनका कुनै पनि उम्मेदवारलाई ४० जनाले मत दिएको देखिएन । यता एमाले तर्फ दुई जनालाई १२ जना र एक जनालाई १३ जनाले मतदान गरेका छन् ।

 

एमाले र सत्तारुढ गठबन्धनको मत बराबर

प्रदेश १ को राष्ट्रिय सभा चुनावमा एमालेका गुरु बराल र गठबन्धनको उम्मेदवार काँग्रेसका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ ।  प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएकामा बराल र बस्नेतको भने बराबर मत आएको हो । गोला प्रथा गर्दा बस्नेत निर्वाचित भए ।

 

मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी अर्याल निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १५६ मतभारसहित निर्वाचित भएकी छन् ।

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् । एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् ।

 

लुम्बिनीमा गठबन्धनका उम्मेदवार निर्वाचित

लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ मत ल्याएर विजयी निर्वाचित भएका हुन् ।

 

वाग्मतीमा नेकपा(एस)की तिमल्सिना र कांग्रेसबाट पौडेल विजयी

माघ १२, २०७८: राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

 

एमाले उम्मेद्वारको जितसँगै गठबन्धनको योजना असफल

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ । गठबन्धनको उम्मेदवार हेमराज राईलाई हराउँदै एमालेका उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन् ।

 

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।

 

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पदका लागि ४३ उम्मेदवार

२० पुष २०७८

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।

 

 

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि ४३ उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।

 

 

आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

 

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

 

 

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

Comments Box