४८ वर्ष अगाडीको मनाङ – यात्रा स्मरण



कुरा २०३०/०३१ तिरको हो, मनाङ जानु पर्ने भयो। पृथ्वी राजमार्गको डूम्रे सम्म सार्वजनिक वसको यात्रा टुंग्याएर झोला मिलाउदै चूंदी तरे पछि मनांग तिरको यात्रा आरम्भ हुन्छ। लगातार ५ दिन पैदल हिडेर क्रमशः तनहु, लमजुंग जिल्ला छिचोले पछि मनांगको दर्शन मिल्छ।

 

File Photo/ Tilicho News

 

घडी हेरेको डुम्रेबाट हिड्दा करीब २.०० बजेको रहेछ। बर्षा मासको महिना रहेछ चुंदी खोला बढेको रहेछ, सांघुरो ठाऊ भएकोले तर्न जांघर परेको स्थान भेटिएन, खोला दह्रै थियो, खुट्टा छोडियो कि मर्स्यांगदीमा पुगिने डर। म बेशीकै मान्छे भए पनि खोलानालामा त्यति भुक्तभोगी नभएकोले एक्लै चुंदी तर्ने आंट भएन, स्थानीहरू त्यति भेटिएनन्। तर त्यहां समातेर तारीदिने ब्यक्तिहरू त्यही पेशा गरेर बस्ने रहेछन् र बर्षा याम तिनीहरूको लागि यसरी खोला तारेर पैसा कमाउने ब्यबसायीक याम पनि हुदो रहेछ। ती मध्ये एक जनाले खोला तारेको रू.५/- लिने शर्तमा सो खोला तार्न राजी भए। मनांग सम्म पुग्दा मैले यस्ता खोला कति तर्नु पर्ने होला, शुरूकै खोलाबाट पैसा बुझाउदै जादा त खोलाहरू तर्दैमा बाटो खर्च सकिने अड्कल गर्दै बच्चामा स्कूल जादा तर्नु परेको खोलो सम्झदै पाईण्ट खोले ,जुता हातमा बोके र झोला पछाडि बोक्दै हेलिए खोलामा, बिस्तारै तर्पाए तर्पाए गर्दै पारी तर्न सफल भए, पैसा पनि जोगियो खोला पनि तरीयो।

 

पछि सुनेको यो ठाऊमा झोलुंगे पुल राख्न खोज्दा स्थानीय बोटे समुदायले हाम्रो रोजगारी समाप्त हुन्छ भनेर नदिएको रे! बेरोजगारीको समस्याले गर्दा यसरी विकासका काममा समेत अवरोध सिर्जना हुने रहेछ त्यति बेला देखि नै।

 

त्यहांबाट सम्म खेतै खेत हिड्दै चामवास हुदै तुरतुरे पुगें। गोरखा र तनहु जोड्ने झोलुंगे पुल रहेको यो ठाऊ वारीपट्टी तुरतुरे र पारीपट्टी पालुंगटार रहेछ। पालुंगटारमा एयरपोर्ट रहेछ तर सन्चालनमा नआएर गौचरणको रूपमा रहेको। १५/२० वटा घरहरू रहेको तुरतुरेमा वास बस्ने र खाना खाने ठाऊहरू पाईने रहेछ। अगाडि जाऊ भने केही समय त थियो तर पनि तार्कुघाट , पाऊॅंदी पुग्न समय लाग्ने र बीचमा त्यति सुविधाजनक स्थान छैन होला भन्ने ठानेर तुरतुरे मै बास खोज्न थाले। त्यही बेला एकजना अधवैंसे यूवकले तपाई मनांग जाने हो भनेर सोधे म त अचम्म परें, खास भनौ भने यो उनको कला रहेछ सोधीखोजी गर्ने र मैले हो भने पछि जांऊ हाम्रोमा खान बस्न राम्रो छ भनेर मलाई डोर्याई हाले। मलाई पनि बास बस्नु नै थियो पछि लागे, मलाई मेरो बस्ने कोठा र बेड देखाएर उनी फेरि पाहुनाको खोजीमा गए।

 

सोधी खोजी हुदै जादा उनको नाम पदमे थकाली रहेछ, उनी त्यो ठाऊमा आउनु अगाडि मनांगको बगरछापमा होटल राखेर बस्दा रहेछन् र बिस्तारै त्यो ठाऊ छोडी यहा त्यही ब्यबसायलाई निरन्तरता दिएका रहेछन्। थकालीहरूको मूल थलो मुस्तांगको टुकुचेलाई मानिन्छ र यो समुदाय होटल ब्यबसायको पर्याय मानिन्छ। यो क्षेत्र यिनीहरूको ब्यबसायीक पहिचानको क्षेत्र हो। यसमा उनीहरूको विशेष कला हुन्छ। स्वाद र सरसफाईमा थकाली अब्बल दर्जामा गनिन्छन्।त्यो ठाऊमा यिनले त्यो छनक पनि दिए र मेरो त एक किसिमले पथ प्रदर्शक पनि भए। किनभने विना पथ प्रदर्शकको पहिलो गन्तब्य थियो मनांग मेरो लागि। उनीबाट मैले मनांगको सदरमुकाम चामे सम्मको बाटो, बास, होटल, खानपिनको बारेमा बिस्तृत जानकारी लिने मौका पाए।

भोली पल्ट सवेरै गन्तब्य तिर लागें।बीचमा पाऊदी खोला तरेर पाऊदीको ढिकमा पुगें। बाटोमा लहरै ६/७ बटा घर, खाने बस्ने ब्यबस्था पनि भएको बस्ती रमाईलो रहेछ। यसो आराम गर्दै एउटा थकालीको होटलमा चिया नास्ता गरेर भोटे ओडार तिर हानिए।भोटे ओडार पनि बाक्लै घरहरू भएको बस्ती रहेछ। त्यति बेला नै नाम चलेको भक्ति नमूना मा वि भोटेओडार बाटो मै पर्ने रहेछ। खानपिन र होटलको सुविधा भएको यो ठाऊले त्यति बेलै सम्पन्नता देखाउन सक्षम भएको पाएं। म सरासर फलियासांघु सम्म बेशीशहर जाने यात्रुलाई साथी बनाउदै हिडें। फलिया सांघुबाट दाहिने तिर मर्स्यांगदीको पुल तरेर चितिको बाटो हुदै बांझाखेत हुदै भुलभुले नपुग्दा सम्म राम्रो होटलहरू भेटिएन, बीचमा चिया, बिस्कुट लिदै भुलभुलेमा एकजना बगरछाप कै मित्रकोमा खाना खान बसे। यो ठाऊ पदमे थकालीजीले नै चिनाई दिएको हुदा सोही सन्देश सुनाउदै लन्च गरें। सो दिनको बास बाहुनडाडामा बस्ने योजनाका साथ नांदी हुदै बाहुनडाडाको उकालो सकिदा सांझको साढेसात बजी सकेको थियो।

 

यो डाडा पछि बाहुन जातीको बस्ती नभेटिने हुदा यसलाई बाहुनडाडा भनिएको हुनु पर्छ।राष्ट्र कवि माधव प्रसाद घिमिरेको जन्म स्थान समेत यही भएकोले यो ठांऊ ऐतिहांसिक पनि छ। यो ठाऊ पहिला मनांग भोटको सदरमुकाम पनि थियो र पछि लार्के नाकालाई नियन्त्रण गर्न मनांगको थोंचेमा सदरमुकाम सारिएको रहेछ। हाल चामे सदरमुकाम हुनु अगाडि सम्म थोचेमा सदरमुकाम थियो मनांगको।

 

बाहुन डाडाबाट उत्तर तिर हेर्दा लमजुंगको चिप्ला, स्यांगे र जगतको एरिया देखिन्छ। लेक तिर विभिन्न गुरूंग बस्तीहरू देखिन्छन्। स र र हिमालको चिसो हावा बाहुनडाडाको चौतारोमा पुगेर लिन पाउनु अर्कै आनन्द, दिन भरको थकाई त कता हराऊछ हराऊछ एक छिन मै!

 

आजको बास पनि मनांगको थोंचे निवासी नॅंवांग गुरूंगको बाहुनडाडाको घरमा भयो र मैले तय गर्नु पर्ने बाटो र बासको विषयमै कुराकानी केन्द्रित भए।

File Photo/ Tilicho News

भोली पल्ट सवेरै उत्तर तिर लागें, स्यागे पुगे पछि कर्मा लामाजीकोमा नास्ता गरे। त्यहाबाट जगत पुग्न भीरको बाटो हिड्नु पर्ने रहेछ। बाबियो र खरका गांजहरूलाई दुई हातले समाउदै ढुंगाको अक्करमा खुट्टा अड्याउदै कतै कतै झुण्डिदै हिड्नु पर्ने। कति ठाउमा त पहरोहरूमै सकी नसकी हातले पक्रदै तल पट्टी छंगाछुर भीर र मर्स्यांगदीको सुसावट भित्र हराउदै सास दवाएर हिड्नु पर्दा यो भन्दा अगाडि पनि नेपाल छ र? नेपाली होलान् र? यो बाटोमा नेपालीको पाईला परेको होला र जस्तो लाग्ने। तर हामीले त त्यसो भनौला रे! हामीले कल्पना मात्र गर्न सक्छौ कि यहीबाटो मनांग वासीलाई नुन, तेल, चामल ,वरापरी पुर्याउन गोरखा खानचोकका कति जना भरीया दाईले भारी सित यो बाटो तय गरे होलान्? आफ्नो र आफ्ना परिवारका सुख दुःख साट्न कति मनांगवासीले यस्ता बाटाहरू संग संघर्ष गरे होलान् तर हामी त १/२ वर्षको लागि आउने ले के संघर्षका कुरा गर्ने र!

 

तै पनि हिड्दै जादा जगत नामको गाऊको दर्शन मिल्यो। ठूलो पहरा माथि रहे जस्तो लाग्ने १५/२० घरको समूह रहेको यो गांऊ राणा कालीन समयमा कर उठाउने प्रयोजनका लागि स्थापना भएको बुझियो। तिब्बतको लार्के नाकाबाट हुने ब्यापार नुन, ऊन र भित्रिने खाद्यान्न उपर लगाईने कर यही ऊठाईने गरिदो रहेछ। यसैले यो ठाऊ चलन चल्तिको रहेछ। लमजुंगको उत्तरी भाग र तल्लो मनांगका बासिन्दाले बसोबास गरेको यो ठाऊमा खाना र बास बस्न राम्रो ब्यबस्था रहेछ। यहांको रमणीयता पछि म च्याम्चे तिर लागे। ६/७ वटा अस्थायी घरहरू भएको च्याम्चेमा बास बस्ने ठाऊको सीमितता रहेछ। यहांबाट सिधै अगाडि झरेको च्याम्चे छहरा यो बाटोको रमणीय दृश्य हो। पारीको झरनाका पानीका छिटाहरू वारी सम्म आउने र बीचमा मर्स्यांगदीको आवाज सुनिने रमणीय लाग्यो।

 

यहांबाट मर्स्यांगदी माथिको झोलुगें पुल तरेर मनांग र लमजुंगको सीमानामा मनांग तर्फ रहेको गाऊ ताल तर्फ जादै गर्दा बीचमा भीरबाट ढुंगा खस्ने त्रासका बीच करीब डेढ घण्टामा ताल पुगें। मर्स्यांगदीका किनारमा लहरै १५/२० वटा घरहरू रहेका र खाने बस्ने सुविधा रहेको, एऊटा प्राथमिक विद्यालय रहेको सो ठाउमा तल्लो भेगका शिक्षकहरूबाट अध्यापन भै रहेको थियो। त्यहांबाट पारी तर्फ रहेको घेरांग गाऊमा देखिएको गुरूंग बस्तीले दुर्गमताको परिचय दिई रहेको थियो। यो ठाऊमा एक क्षणको भलाकुसारी पछि मर्स्यांगदीको किनारै किनार उत्तर तर्फ लाग्दै जादा खोत्रो भन्ने ठाऊमा पुगियो। यहा खासै बस्ती त थिएन तर त्यो ठाऊको माथि ३०/४० घर भएको नाचै नामको गुरूंग बस्ती रहेछ जुन तलबाट देख्न नसकिने। त्यस गांऊको तल तल हुदै धारापानी भन्ने ठाऊमा पुगियो। रात त पर्न आटेको थियो तै पनि ४५ मिनेटको हिडाईमा वगरछाप (तुरतुरेमा भेटिएका पद्मे थकालीको गाऊ) छ भन्ने थाहा पाएर बासका लागि त्यही पुग्ने अठोट गरे।

 

 

प्रहरी चौकी सहित १०/१२ बटा घर भएको धारापानी नाचै , ओडार र थोंचेको पायकमा रहेछ। थोंचे पुरानो सदरमुकाम मर्स्यांगदी र लार्केबाट आएको दुधखोलाको संगममा रहेको छ। १५/२० बटा घरले बनेको यो बस्तीमा एउटा प्रस्तावित मा वि रहेको छ। यो स्थान तल्लो भेगको पायक परेको हुदा ताचै, वगरछाप, ओडार, घ्यालनचोक, नाचै,तिल्चेबाट बिद्यार्थीहरू अध्ययन गर्न आउने रहेछन्। पहिला पहिला मनांगको समेत राजनीति लमजुंग घन पोखराका सुब्बा भनिने गुरूंगहरूले गर्ने हुदा थोचेमा उनीहरूकै बोलबाला चल्ने रहेछ, ती मध्ये खगेन्द्र जंग गुरूंग जो त्यति बेला सहायक मन्त्री सम्म पनि भएका थिए, उनकै खटन पटन थियो त्यति बेला यता तिर।
यो थोचे बाट १ घण्टा उत्तर तिर अर्को रमणीय गुरूंग गाऊ छ जसको नाम तिल्चे हो। यो गाऊ लार्के जाने बाटोमा पर्छ। २५/३० घर को बस्ती रहेको यो गाऊमा एउटा प्रा वि रहेको छ।

 

यसरी आजको बास बगरछापमा बस्ने भईयो। बगरछाप चामे सदरमुकाम जाने बाटोमा पर्ने मुख्य ब्यापारिक स्थल हो। यहा एउटा आयुर्वेदीय अस्पताल र एउटा प्राथमिक बिद्यालय रहेको छ।यसको पारी पट्टी रमणीय गुरूंग गाऊ ताचै छ। यहा एउटा प्रा वि रहेको छ।

 

भोली पल्ट बिहान चामे पुगिने दिन, बिहान चिया नास्ता गरेर हिडे। बाटोमा दाना क्यू भन्ने ठाऊ रहेछ, २/४ वटा घर भएको यो ठाऊबाट ठाडै उकालो हिडे पछि जंगलको बीचमा १/२ वटा भट्टी भएको ठाऊ तिमांग रहेछ। बाटोमा हिड्ने ढाक्रे, बटुवा र कर्मचारी समेतको भिड लाग्ने ढेमाको होटलमा बिभिन्न थरीका स्थानीय लगायतका खाजा र खानाको ब्यबस्था रहेछ। घरका सीमित मान्छेले सेवा दिदा भ्याई नभ्याई हुदो रहेछ तैपनि भोकमा जे पनि मीठै हुने। मैले पनि फापरको ढिडो र दाल खाए कतिले त सिस्नोको फाडो संग खाए, मेरो त बानी थिएन ।

 

 

त्यसरी २५/३० घरको गुरूंग बस्ती भएको थानचोकलाई दाया परेर चामे पुगियो। डुम्रे बाट हिडेको चौथो दिनमा करीब १ बजे तिर आफ्नो गन्तब्यमा आएर थकाई मारे।

 

खासगरी करीब आज भन्दा ५० वर्ष अगाडिको मनांग र त्यस तर्फको गन्तब्यलाई आजको अनुभवले कथा जस्तो लाग्न सक्छ। किनभने करीब ५ दिन लाग्ने उक्त दूरी अहिले करीव ५/६ घण्टामा तय गर्न सकिन्छ। आजभोली त मनांग जिल्ला भर यातायातका साधन सहज रूपले चल्ने हुदा पैदल यात्रा सम्भव छैन जस्तै भएको छ।

 

 

मनांग जिल्ला एक पर्यटकीय गन्तब्य स्थल हो। शहरको कोलाहल, कामको कराकर, सवारी साधनको दिकदारीलाई केही समयलाई विर्सन भए पनि विकसित एवं औद्योगिक राष्ट्रको नागरिक नेपाल र मनांग जस्तो ठाऊमा जान खोज्छ र जान्छ पनि तर त्यहा उसले खोजे जस्तो गन्तब्य पाउन सक्छ? जस्तो उ गाडी नचढी पैदल हिड्न खोज्दा त्यो मौका सहज तवरले पाउन सक्छ? उसले स्थानीय र अर्गानीक खाना खान खोज्दा पाउन सक्छ कि उही पिज्जा र वर्गर? उ शहरी कोलाहल र हल्लाबाट मुक्त हुन चाहन्छ तर त्यस्तो अवसर मिल्छ? अबश्य पनि उसले चाहेको आराम हो, उसले चाहेको प्राकृतिकपन हो, उसले चाहेको विना मिसाबटको अर्गानिक खाना हो, हामी उसलाई यस किसिमको वातावरण दिन सक्यौ भने मात्र हामी पर्यटक प्रेमी हुन सक्छौ नत्र एक नाफामुखी ब्यबसायी मात्र, हामी सेवामुखी व्यवसायी हुन सकेनौ भने हाम्रो देश पर्यटन उन्मुख छ भन्नु नारा मात्रै हुनेछ।
हामीले आधुनिक विकासका नाममा हाम्रो प्राकृतिकपन नै गुमाउदै त छैनौ? यसैले हाम्रा यस्ता सम्पदालाई विकासको नाममा नष्ट नपारौ र यिनलाई जोगाएर राखौ।

 

मनाङमा बाढी पहिरो: कस्तो छ तिलिचो ताल जाने बाटो ?

 

 

नेपालमा मनांग जस्ता प्रकृतिका अपार गहनाहरू धेरै छन्। ती सौन्दर्यहरू जस्तै स्थानीय रूपमा बनाईएका पैदल मार्गहरू, वन, जंगल, पाटी, पौवाहरू, स्थानीय कला र संस्कृतिहरू, अर्गानिक खाद्य पदार्थ तथा फलफूलहरू, स्थानीय उत्पादनहरू, हाम्रा पुराना वेशभूषा र आभूषणहरू आदिलाई विदेशी पर्यटकलाई पस्किन सक्यौ भने हामी सही रूपमा पर्यटन प्रेमी ठहरिन्छौ। त्यसैले हामीले यस्तो नीति बनाउन सक्छौ जसबाट यस्ता ठाऊका बस्तीलाई सांस्कृतिक बस्तीमा रूपान्तरण गरेर जिल्लालाई पर्यटन प्रेमी बनाउने र यो जिल्लालाई प्रदूषण मुक्त क्षेत्र बनाएर विश्वमा नमूना पर्यटकीय क्षेत्र बनाउन सके यहाको प्रकृति उपर न्याय गरेको ठहरिने छ।

 

 

मनाङ तपाईंलाई स्वागत गर्न आतुर छ – साम्सद पोल्देन छोपाङ गुरुङ