गृहमा सहसचिवको किर्ते हस्ताक्षर गरेर भत्ता



गृह मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको किर्ते हस्ताक्षर गरेर भत्ता लिएका छन् । भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका हुन् । मन्त्रालयले किर्तेमा संलग्न तीनजना करारका कर्मचारीलाई हटाएको छ । गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन् ।

 

 

 

उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मीरा घिमिरे र निशा पुनलाई मन्त्रालयले हालै हटाएको हो । लामो समयदेखि उनीहरूले त्यसरी भ्रमण काजको आदेश आफैँ स्वीकृत गरी भत्ता लिँदै आएको खुलेको छ । जुनसुकै सहसचिवले पनि भ्रमण काजको आदेश स्वीकृत गर्न सक्ने भएकाले उनीहरूले विभिन्न सहसचिवको हस्ताक्षर किर्ते गरेका हुन् ।

 

गत २ पुसमा सहसचिव हुमकला पाण्डेको किर्ते हस्ताक्षर भई भ्रमण भत्ता भुक्तानीका लागि लेखाशाखा पुगेको थियो । लेखाशाखाका कर्मचारीले शंका लागेर सोध्दा कार्यालय सहयोगी शाहीले किर्ते गरेको खुलेको हो । त्यसअघि पनि पटकपटक उनले आफ्नो तथा अन्य कार्यालय सहयोगीको नाममा त्यसैगरी पैसा लिँदै आएको खुलेको छ । सहसचिवकै किर्ते गर्नेलाई हटाए पनि घटनालाई गुपचुप राखी मन्त्रालयले कानुनी कारबाहीतर्फ चासो दिएको छैन ।

 

 

 

आफूले कर्मचारीलाई भ्रमण काजमा नपठाउने, तर आफ्नोसमेत हस्ताक्षर किर्ते गरिएको सहसचिव पाण्डेले बताइन् । ‘त्यसमा संलग्न कर्मचारीलाई मन्त्रालयले कारबाही गरिसकेको छ,’ उनले भनिन् ।

यो समाचार नयाँ पत्रिका बाट लिईएको हो।

Comments Box