मुस्ताङको मानापाथी हिमालमा फेरि हिमपहिरो !



मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । २९ कार्तिक २०७८ मा हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकाल ले भने ‘विज्ञहरू पनि यसलाई जलवायू परिवर्तनकै असर भन्छन् । गाउँलेलाई सोध्दा यस्ता घटना कहिलै नब्यहोरेको सुनाउँछन् ।’

 

 

हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ । त्यहाँ ३९ वटा चौंरी थियो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी ढकालले भने ‘‘के कति क्षति भयो भन्ने एकिन छैन । प्रहरी खटाएर हामी खोजी गर्दै छौं,’ उनले भने, ‘कार्तिकमा पहिरो झरेकै ठाउँबाट अहिले पनि झरेको हो ।’

 

याक र चौरी हिमपहिरोमा परेर बेपत्ता

२९ कार्तिक २०७८: मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिनुभयो । “भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ”, उहाँले भन्नुभयो, “भीम शेरचन र सकेन्द्र गौचनका ६५÷६५ वटा याक चौँरीमध्ये १०÷१२ वटा मात्र भेटिएका छन् ।”

 

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०÷१२ मात्र देखिएको र बेपत्ता चाँैरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

 

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताउनुभयो । उवा र फापरबालीमा क्षति पुगेको छ ।

 

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गर्नुभएको थियो । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताउनुभयो । हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।

 

हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताउनुभयो । हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताउनुभयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उहाँको भनाइ छ ।

Comments Box