विगतका २५ वर्षे यात्रा र फेकोफनको आगामी रणनिती (कुराकानीमा आधारित आलेख)



सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ । २५ वर्षको यात्रा पार गर्दै महासंघ २६ औँ वर्षमा प्रवेश गरेको छ। गत जेठ १८ गते महासंघले आफ्नो २६ औँ स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाएको हो ।

 

महासंघको २५ वर्षे यात्रा बारे जानकारी लिन हामीले महासंघकी अध्यक्ष भारती पाठकसँग विशेष कुराकानी गरेका थियौँ ।

कुराकानीको आधारमा हामीले फेकोफनको २५ वर्षे यात्रा र आगामी रणनितीवारे यो आलेख तयार गरेका छौँ ।

 

२५ वर्षे यात्रालाई फर्केर हेर्दा….

 

सामुदायिक वन उपभोक्ता महासंघको स्थापना बि.सं २०५२ सालमा भएको हो । उपभोक्ताहरुको माग अनुसारनै देशभरीको संगठनलाई राष्ट्रिय स्तरमा संगठित गर्नको निमिक्त स्थापना भएको हो । सामुदायिक वन उपभोक्ता महासंघले संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

 

थोरैबाट सुरु गरिएको यो संगठनलाई देशभरीको उपभोक्ता समूहहरुलाई सशक्तिकरण गर्ने, उपभोक्ताहरुको क्षमता विकास गर्ने लगायतको कुरामा भूमिका खेलेको थियो । आजको दिन सम्म आइपुग्दा देशभरी २२ हजार उपभोक्ता समूह खडा भइसकेको छ । उपभोक्ता समूहहरुको स्थापना सँगै महासंघले सुरुवाती समयमा धेरै महत्वपूर्ण कुराहरुमा भूमिका खेल्नुपर्ने समेत थियो ।

 

नितिगत तहमा समुदायको अधिकार स्थापना गर्ने गरी महासंघले त्यसमा पनि आफ्नो भूमिकालाई सशक्त बनाउनुपर्ने थियो । विशेषगरी गरिब, विपन्न, दलित, आदिवासी, जनजाती र ती समुदाय जो वनमा आश्रित हुन्छन् । वनमा आश्रित समुायले नै वनको संरक्षण गर्दै आइरहेको हुँदा प्राकृतिक श्रोत माथि स्थानिय समुदायको अधिकार अधिकार स्थापना गर्ने कुरामा सरकारसँग पैरवी गर्ने, संवाद गर्ने कुरामा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

फेकोफनले के कस्ता पहल कलदमी कामहरु गर्‍यो ……..
वनक्षेत्रको संरक्षण गर्ने देखि बिस्तार गर्ने सम्मको कुरामा महासंघको भूमिका निकै अतुलनीय छ तर यो संस्थाले वन क्षेत्रको संरक्षणसँगै विभिन्न मुद्दाहरुमा काम गरिनै रह्यो । जसले समुदायलाई थप सशक्त र सुदृढ बनाउँदै लगेको छ ।

 

  • महिला नेतृत्व
    वन जंगलसँग दैनिक जोडिएको समूह भनेकै महिलाहरु हुन् । दैनिक घाँस दाउरा गर्ने देखि बोट बिरुवा स्याहार्ने सम्ममा महिलाहरुको प्रमुख भूमिका रहेको हुन्छ । त्यसैले समुदायमा महिलाको भूमिकालाई थप सशक्त बनाउन र उनीहरुलाई नेतृत्वदायि भूमिकामा ल्याउन महासंघले महिलाको भूमकालाई ५० प्रतिशतको सहभागिता सुनिश्चित गर्न सफल पनि भयो ।

 

  • नितिनिर्माणमा सहयोग
    सामुदायिक वन उपभोक्ता महासंघले नितिनिर्माणमा महत्वर्पूा भूमिका निर्वाह गरेको छ । वनश्रोतलाई गरिब विपन्नको जीवनसँग जोड्ने कुरामा सरकारसँग सधै निरन्तर रुपमा पैरवी गरिनै रह्यो । देशभरीको सामुदायिक वनहरुलाई “एक सामुदायिक वन एक उद्यम ” को व्यापक रुपमा अगाडी बढाइएको थियो । नेपाल सरकारको समृद्दीको लागि वन अभियानमा समावेश गरिनुपर्ने मुद्दामा सधै पैरवी गर्दै आएको छ ।
  • सशक्तिकरणको सवालहरुमा

विभिन्न सवालहरु जस्तै संगठन सशक्तिकरणको कुराहरुमा, समावेशीताको सवालहरुमा, सुशासनको कुरामा, गरिब विपन्नको जीवनसँग जोड्ने कुरा र वन क्षेत्रलाई कसरी लैजानुपर्छ भन्ने सवालहरुमा निरन्तर लागिनै रहेको छ ।

  • संकटमा महासंघको साथ र भूमिका
    देशमा राजनितिक होस् या प्राकृतिक संकट होस् सामुदायिक वन उपभोक्ता महासंघले हरेक हिसाबले देशलाई विपदमा सहयोग पुराएको छ । देशको एउटा ठूलो नागरिक संगठनको हिसाबले फेकोफनले विभिन्न परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
    जस्तै, ६२/६३ को जनआन्दोलनमा देशव्यापी रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राजनीतिक दलहरुलाई सहयोग गरेको थियो ।
    १० वर्षे द्धन्द्धकालमा जहाँ कोही पनि समुदायमा जाने स्थिति थिएन त्यतिबेला देशभरीको सामुदायिक उपभोक्ता समुहहरुलाई परिचालित गरी सहजीकरणको भूमिका निर्वाह गरेको थियो ।

 

यसबिच विभिन्न विपत्तिहरु आइपरिनै रह्यो ,
– प्राकृतिक प्रकोप
– भूकम्प
– नाकाबन्दी
– कोभिड १९ को प्रकोप लगायत अन्य

यी सबै परिस्थितिमा समुदायमा समस्या सृजना भएको थियो । यस्तो परिस्थितिमा महासंघले समुदायसँग समन्वयन गरी प्रकोपमा संगठन परिचालन गरि राज्यलाई सघाउने कार्य गरेको छ ।

 

 

कोभिड १९ को सन्दर्भमा श्रम गरेर दैनिक जीवनयापन गर्दै आइरहेका श्रमिकहरुलाई विभिन्न सहयोग गरेको छ । यो दोस्रो लहरमा विभिन्न क्वारेन्टाइन भवनहरु निर्माण गर्नुका साथ साथै अक्सिजनको अभावलाई ध्यानमा राख्दै अक्सिजन सिलिण्डर वितरण समेत गरेको छ । जनचेतना फैलाउने देखि सचेतिकरणमा समेत महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।

 

२५ वर्षमा सामुदायिक वन उपभोक्ता महासंघले निर्माण गरेको छवि बारे ……

सामुदायिक वनले नेपालमै पनि एक समय मरुभूमि बनिसकेको जंगललाई जोगाएर आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ भने विश्व सामू सामुायिक वन आफ्नो असल अभ्यास र प्रयासले चिनिएको छ । सरकारले समुदायलाई विश्वास गरेर हस्तान्तरण गरेको जंगललाई संरक्षण गरि यसलाई वृहत्तर बनाउन पनि सफल भएको छ । जनताले आफ्नो लगनशीलताले समुदायको मन जित्न सफल भएको अहिलेको परिस्थिति हो । यहीँ समावेशीताको असल अभ्यास गरियो । सुकेका पानीका मुहानहरु पुन: व्यूँतिए । श्रोत बढ्दै गयो जनता पनि उत्तिकै सशक्त बन्दै गए ।

 

फेकोफनको २५ वर्षे यात्रामा भएका ठोस कामहरु………
समुदाय सशक्त हँुदै गइसकेपछी समुदायलाई नियन्त्रण गर्ने काम सरकारबाटै पनि भइरह्यो । राज्यले वनलाई नियन्त्रणमा लिने प्रयास पनि धेरै पटक भएको थियो । महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरी त्यो समस्यासँग लडिरह्यो ।

 

  • सरकारको ४० प्रतिशत कर लगाउने निर्णयमा महासंघ अदालतसम्म पुग्यो र त्यसलाई १५ प्रतिशतमा ल्याउन सफल भयो त्यो पनि साल र खर जस्ता काठमा कर लागू गरियो ।

 

  • साझेदारी वनको कार्यक्रम ल्याएर समुदायमा द्धन्द्ध सृजना गर्ने काम भयो ।

 

  • सरकारबाट वन ऐनलाई पटक पटक संशोधन गर्ने काम भयो । जसमा जनताको अधिकार कटौती गर्ने काम भएको थियो । वन ऐन २०४९ संशोधन गर्न महासंघले रोक्यो ।

 

  • २०७१ सालमा चुरेलाई मानव रहित जंगल बनाउने प्रयत्न सहित सरकारले चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गर्‍यो । सरकारको यो निर्णय प्रति विभिन्न संघ संस्थाको सहयोगमा महासंघले आन्दोलन गर्‍यो । चुरे संरक्षण्मा सरकार एउटा ठोस निर्णयमा भने अझै पुग्न सकेको छैन । यस विषयमा महासंघ निरन्तर पैरवीमा छ ।

 

  • संविधान ल्याउने कुरामा महासंघले भूमिका खेल्यो ।

 

  • आवधिक चुनावमा दलहरुलाई घोषणापत्र बनाउने काममा सहयोग गरेको थियो ।

 

राज्य पुर्न:संरचना भएपनि वन क्षेत्र भने पुर्न:संरचना हुन सकेको छैन । तीन तहको सरकारको संरचना अनुसार वन क्षेत्रको संरचना हुन नसक्दा सामुदायिक वनलाई अझै पनि थुप्रै चुनौतीहरु रहेका छन् । समुदाय र उपभोक्ताहरुको सहयोगमा महासंघले हरेक चुनौतीलाई डटेर लड्ने प्रतिबद्धता समेत जनाएको छ र आगामी दिनमा पनि वन क्षेत्रको संरक्षण र पैरवीमा निरन्तर लागिरहने जनाएको छ ।