कोभिड १९ : कसरी पुग्यो चरम बिन्दुमा ?



छिमेकी राष्ट्र भारतसँगै नेपालमा पनि कोभिड १९ को संक्रमण तीव्र रुपमा उकालो लागिरहेको छ । नेपालमा कोभिड १९ उकालो लाग्नुमा पछाडी विभिन्न खालका कारक छन्।

 

यसै सन्दर्भमा हामीले नेपालमा कोभिड १९ संक्रमण तिव्र गतिमा फैलिनुका कारण के हुन सक्लान् भनेर चिकित्सा क्षेत्रमा लामो समय देखि काम गरिरहनुभएका तामाकाेशी अस्पतालका निर्देशक डा. सुमन कर्माचार्यसँग कुराकानी गरेका थियौँ ।

 

कोरोना गाउँ–गाउँ पसिसकेको त्यो अनुभव……..

डा.सुमन कर्माचार्य रामेछापको तामाकाेशी अस्पतालमा निर्देशकको रूपमा कार्यरत हुनुहुन्छ । दुई हप्ता अघि आफ्नो अस्पतालमा ६ वर्षे बालक कोभिड १९ संक्रमित भए पश्चात कर्माचार्यलाई कोभिड १९ समुदायमा व्यापक रुपमा फैलिएको महसूश भएको कर्माचार्यको भनाई छ । घर र विद्यालयसम्मको मात्र यात्रा रहेको बालकलाई कोभिड १९ हुनु भनेको अबको दिनमा कोरोना संक्रमणको स्थिति निकै भयावह रहेको बताउनुहुन्छ ।

 

 

संक्रमण दर अझै वृद्धि हुन सक्ने …….
अधिकांश जिल्ला अस्पतालमा अझै सम्म पनि कोभिड १९ परिक्षण गर्ने सुविधा भइसकेको छैन । रामेछापबाट कोरोना परिक्षणको लागि स्वाब धुलिखेल पठाउनुपर्ने अहिलेको अवस्थामा गाउँगाउँमा रहेका संक्रमितहरुको परिक्षण र पहिचान अझै भइसकेको छैन । यदि परिक्षण गर्ने सुविधा हनेु हो भने यो आँककडा अझै धेर्रै वृद्धि हुने कर्माचार्यको भनाई छ ।

 

 

हामी कहाँ चुक्यौँ ?
जब कोभिड १९ संक्रमण दर छिमेकी राष्ट्र भारतमा तिव्र गतिमा वृद्धि भइरहेको थियो , त्यतिबेला हामीले हाम्रो सिमाक्षेत्रमा कडाई गर्न नसक्दाको अहिलेको परिणाम भएको डा.सुमन कर्माचार्यको भनाई छ । यदि सर्वसाधारणको ओहोर दोहोरलाई हामीले ३/४ हप्ता अघि रोक्न सकेको भए कोभिड १९ को नयाँ लहर फैलिने सम्भावना न्यून हुन सक्ने उहाँको भनाई छ।

सरकारले समय छँदैमा बोर्डर सिल गर्न नसक्नु सबै भन्दा प्रमुख कारण रहेको कर्माचार्यको भनाई छ भने निषेधाज्ञा लागू गर्नु दुई दिन पूर्व सबैलाई सम्बन्धित स्थानिय तहमा जानु अघि कोभिड परिक्षण नगराई पठाउनु अर्को प्रमुख कारण भएको उहाँको भनाई छ । बिना चेकजाँच गाउँ पसेका जति पनि सर्वसाधारण छन् उनीहरुबाट त्यहाँ भएका स्थानियहरु असुरक्षित छन् ।
कोभिड १९ फैलिनुको अर्को प्रमुख कारण हामी नपरी नचेत्ने बानी रहेको उहाँको भनाई छ । कोभिड १९ को संक्रमण निकै फैलिरहेकै बेलामा पनि हामीले विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यक्रममा भिडभाड गर्न नछोड्नु पनि हो । यसले हाम्रो अटेरीपनलाई पनि स्पष्ट रुपमा देखाएको छ ।
त्यस्तै, हामीले अपनाएका स्वास्थ्यका मावदण्ड पनि कोभिड १९ को संक्रमणको जोखिम रहँदा रहँदै पनि प्रयोग गर्न छोडेको अजस्था रहेको हुनाले , मास्कको प्रयोग नगर्ने देखि सामाजिक दूरी कायम नगर्नु सम्मले हाम्रो लापरवाहीकै कारण संक्रमण दर वृद्दि भएको हो ।

 

 

कहाँ चुक्यो सरकार ?
पहिलो लहर पछीको यो एक वर्ष जतिपनि राजनीतिक जमघटहरु भएका छन् त्यसले सरकार सर्वसाधारणको स्वास्थ्य प्रति कति जिम्मेवार छ भन्ने कुरालाई प्रष्टाएको छ ।

पहिलाे वर्षमा बनेका क्वारेन्टाइलाई निरन्तरता दिन सकेको भए बिरामीहरुलाई छुट्टै बस्न सक्ने अवस्था रहँन्थ्यो ।

यो एक वर्ष सरकार निदाएरै बसेको कुरा छर्लङ्ग हुन धेरै कुराहरु हामी माझ प्रष्टै छ । सरकारले गरेको प्रत्यक पालिकामा एक अस्पतालको योजना , योजनामै सिमित हुनपुग्यो ।

त्यस्तै यो एक वर्षमा आइसियू र भ्यान्टिलेटर कति थपिए भन्ने अर्को प्रश्नको विषय छ । सस्तो लोकप्रियताको लागि सरकारले आफ्नो योजनाहरु मात्रै अघि सारेको तर त्यो योजनालाई कार्यान्वयनको पाटोमा नलग्नुले सरकारको नियत माथि प्रश्न उठेको छ ।

जनशक्ति अभाव अहिलेको जटिल विषय हो । यो विषयलाई पनि सरकारले राम्रो सँग सम्बोधन नगर्दा अबको दिनमा मानव जीवन बचाउने जनशक्तिको अभाव भोग्नुपर्ने अवस्था रहेको कर्माचार्यको भनाई छ ।
सरकार विशेषगरी कोभिड १९ जस्तो जटिल रोगको लागि कुनै पनि खोज र अनुसन्धानलाई महत्व दिएको छैन । संक्रामक रोग विशेषज्ञ बोलाएर उनीहरुको विचार लिन आजसम्म जरुरी ठानिएन। माइक्रो बायोलोजिष्टहरुसँग कुनै पनि अन्तरक्रिया गर्नुपर्छ र उनीहरुले सिकेका ज्ञानलाई अहिलेको परिस्थितिमा प्रयोग गर्न सकिन्छ भन्नेमा सरकार नलाग्दा यो अवस्था थप जटिल हुन गएको हो ।

अहिलेको कोभिड १९ को भेरिएन्ट एकिन भइसकेको अवस्था छैन । तर, यदि अनुसन्धानको क्रममा इण्डियन भेरिएण्ट भेटिएको खण्डमा उसले अझै डर लाग्दो परिस्थिति ल्याउने देखिएको उहाँको भनाई छ ।