कोरोना सन्त्राससँगै बढेको मानसिक स्वास्थ्य समस्या



लकडाउन सुरु भएसँगै मानसिक स्वास्थ्य प्रमुख समस्याको रुपमा देखापरेको छ । दैनिक जसो मानसिक स्वास्थ्य सम्बन्धि बिरामीहरु बढ्दै गएको चिकित्सकहरुको भनाई छ । आर्थिक अभाव, दिनभरी घर भित्रै बस्नपुर्ने, रोजगारीको अभाव जस्ता कुराहरुले नागरिकहरुलाई मानसिक रुपमा नै बिचलित बनाएको छ ।

हरेक दिन कोभिड १९ सम्बन्धि आउने समाचार र मृत्युको खबरहरुले होस् , या सुनिएका झूठा खबरहरुले नै किन नहोस् यसले व्यक्तिको मानसिक स्वास्थ्यमा निकै प्रभाव पारिरहेको हुन्छ। पूर्व तयारी बिना गरिएको निषेधाज्ञाले विशेषगरी निम्न-आय भएका व्यक्तिहरुलाई प्रभाव पारी रहेको छ। जसले गर्दा उनीहरुमा चिन्ताको समस्या बढी रहेको क्लिनिकल साइकाेलोजिष्ट तृष्णा घोष विष्टको भनाई छ । बन्दा-बन्दीको यो अवस्था लम्बिने हो भने यो समस्याले अझै बिकराल रुप लिने उहाँको भनाई छ । अहिलेको यो अवस्थाले रोजगारी गुमाउनेको समस्या बढेको छ । जसले गर्दा घर बसेर अब के गर्ने भन्ने चिन्ताले पनि मानिसहरुमा मानसिक समस्या बढाएको देखिन्छ ।

मानसिक स्वास्थ्यमा प्रभाव पारी रहेको अर्को प्रमुख तप्का हो – वैदेशिक रोजगारीबाट फर्किएका र पढाई अथवा रोजगारीको लागि विदेशिन नपाएकाहरु । सरकारले कुनै पनि कुरालाई प्राथमिकतामा नराखि आफ्नो एकतर्फि निर्णय लागु गर्दा अहिलेको यो अवस्था सिर्जना भएको देखिन्छ । दिनभरी काम गरेर बेलुका गुजारा चलाउनुपर्नेहरुको लागि पनि कुनै पनि राहत प्याकेज नल्याइनुले सरकारको दूरदर्शीतालाई छर्लङ्ग पारेको छ ।

 

समाजिक विभेदले हाम्रो समाजमा अझै पनि जरा गाडेर बसिरहेको अवस्था छ । पहूँचवालाहरुलाई यो निषेधाज्ञाले धेरै असर गरेको पाइँदैन । यस्तो समयमा सरकारलाई बुझाइएको राजस्व जनताहरुको स्वास्थ्य र आधारभूत कुराहरुको लागि प्रयोग गरिएको देखिएन । सरकार पनि निषेधाज्ञा लागु गर्नमा नै उदृत भएको देखिएको छ । अन्य देशको उदहारणलाई हेर्ने हो भने रोजगारीबाट प्रभावित हुने आफ्ना नागरिकहरुलाई क्षतिपूर्ति सहितको रकम उपलब्ध गराएको पाइन्छ तर, हाम्रो सरकारले कल ब्याक टोनमा मात्रै एक सन्देश सम्प्रेसण गर्नुलाई नै प्राथमिकतामा राखेको जस्तो देखिन्छ । फलस्वरुप नागरिकहरु मनसिक रोगको सिकार हुने र केहीले त आत्महत्याको बाटो रोजेर ज्यानै समेत गुमाइसकेका छन् ।

सर्वसाधारण सँग–सँगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुमा पनि मानसिक स्वास्थ्यमा असर पुर्‍याएको देखिएको विष्टको भनाइ छ । उहाँ भन्नुहुन्छ, “स्वास्थ्य क्षेत्रमा फ्रन्टलाइनरको रुपमा काम गरिरहेका सबैलाई छुट्टि लिन नमिल्ने व्यवस्था गरिएको छ, कतिको साना बालबच्चा छन् त कतिको घरमा बालबालिकालाई हेरचाह गरिदिने कोही छैन, कोही गर्भवति अवस्थामा रहे पनि काममा आउन बाध्य छन् भने कोही भर्खरै सुत्केरी अवस्थाबाट काममा आएका छन् । जसले गर्दा स्वास्थ्य क्षेत्रमा काम गर्नेमा चिन्ताको समस्या देखिएको छ ।”

कोभिडको अवस्थाले भयाभह अवस्था लिरहेको तथ्य एकातिर छ भने अर्कोतिर तनाव, चिन्ता र एक्लोपनले मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको छ । आर्थिक समस्या यसको प्रमुख कारकको रुपमा लिन सकिन्छ ।

 

चिन्ता र एक्लोपनको समस्याले सताइरहेको छ भने कस्तो उपाय अपनाउने त ?

चिकित्सकका अनुसार यस्तो समस्या देखापरेमा लामो श्वास लिने र बिस्तारै फाल्ने एक उपाय हो भने अर्को नियमित व्यायामलाई हामी सबैले आफ्नो जीवनशैली बनाउन जरुरी देखिन्छ । त्यस्तै यो समय आफूले आफैलाई बुझ्ने र जान्ने राम्रो समय भएकाले आफू भित्रको राम्रो पक्षलाई बुझ्ने कोसिस गर्ने, स्वस्थ वर्दक खानेकुरा खाने, एकअर्कोसँग आफ्नो समस्या आदान प्रदान गर्ने र धेरै झोलिँदो पदार्थ पिउने आदी गर्नाले यो समस्या कम हुन सक्ने बताइएको छ ।

Comments Box