साउन लागेसँगै नेपाली महिलाहरु हरियो चुरापोते अनि मेहेन्दीमा सजिन थालेका छन्। महिलाको शृंगारमा मेहेन्दीको पनि महत्व छ ।
अविवाहितले राम्रो श्रीमान् भेटियोस् भनेर अनि विवाहितले पती-पत्नीको प्रेम प्रगाढ होस् भनेर मेहेन्दी लगाउने प्रचलन छ । मेहेन्दी जति गाढा लाग्छ, उत्ति नै गाढा माया बस्छ भन्ने विश्वास छ।
पछिल्लो समय मेहेन्दीले फेसनकै स्वरुप लिएको छ । यसका अनेकौं डिजाइन प्रचलनमा छन् ।
मेहेन्दी लगाउने प्रचलन थुप्रै मानिसका लागि आयआर्जनको बाटो पनि बनेको छ । पसलदेखि फुटपाथसम्म मेहेन्दी लगाउने र लगाइदिनेहरु देख्न सकिन्छ । ठाउँ, डिजाइन र गुणस्तर अनुसार यसको मूल्य पनि फरक फरक छ ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
