मर्स्याङ्दी, लमजुङ । मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ का कृषकहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ बंगुरका पाठापाठी वितरण गरिएको छ। गाउँपालिकाको पशु सेवा शाखाको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत ‘दलित आयआर्जनका लागि बंगुर पालन कार्यक्रम’ मार्फत उक्त पाठापाठी वितरण गरिएको हो।
वडा नं. ४ का वडा अध्यक्ष श्री बल बहादुर गुरुङज्यूको अध्यक्षतामा आयोजित एक विशेष कार्यक्रमका बीच स्थानीय कृषकहरूलाई २६ वटा बंगुरका पाठापाठी हस्तान्तरण गरिएको छ। परम्परागत पेशालाई आधुनिकीकरण गर्दै विशेषगरी दलित समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन र गाउँमै स्वरोजगारका अवसरहरू सिर्जना गर्न यो कार्यक्रम ल्याइएको हो।
वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले प्रदान गरिएका पाठापाठीहरूको उचित हेरचाह र व्यवस्थापन गरी व्यावसायिक लाभ लिन कृषकहरूलाई आग्रह गर्नुभयो। पशु सेवा शाखाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले वडाभित्रका विपन्न परिवारको जीविकोपार्जनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
