भुलभुले, लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले आफ्नो शैक्षिक इतिहासमा एक महत्वपूर्ण र ऐतिहासिक पहल सुरु गरेको छ। आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभरिका सम्पूर्ण विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको पोशाकमा पूर्ण रूपमा एकरूपता ल्याउने निर्णय गर्दै पालिकाले शैक्षिक सुधारको नयाँ बाटो रोजेको हो।
यसअघि विद्यालय पोशाक छनोटका लागि गठन गरिएको विशेष उप–समितिले आफ्नो तोकिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ। सोही प्रक्रिया अन्तर्गत आज उप–समितिमा आबद्ध शिक्षकहरूले तयार पारिएको विद्यालय पोशाकको नमुना गाउँपालिकाका अध्यक्ष श्री अर्जुन गुरूङज्यू समक्ष औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको छ।
नयाँ छनोट गरिएको यो पोशाक विद्यार्थीमैत्री, आधुनिक र आकर्षक हुनुका साथै यसले स्थानीय पहिचानलाई समेत विशेष रूपमा झल्काउने कोसिस गरेको छ। पालिकाले यस कदममार्फत विद्यालयहरूबीच देखिने आर्थिक वा सामाजिक भिन्नतालाई न्यूनीकरण गर्दै सबै विद्यार्थीमाझ समानता, अनुशासन र सामूहिक पहिचानको भावना विकास हुने अपेक्षा राखेको छ। यस नवीन कार्यले समग्र गाउँपालिकाको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको व्यक्तित्व विकासमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
