मर्स्याङ्दीको खुदीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न, ६० जनाले लिए विशेषज्ञ सेवा



भुलभुले, लमजुङ । मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने निःशुल्क विशेषज्ञ सेवा सहितको मानसिक स्वास्थ्य सम्बन्धी शिविर सम्पन्न भएको छ। मानसिक स्वास्थ्यका क्षेत्रमा नागरिकको पहुँच बढाउने उद्देश्यले संचालित उक्त शिविरमा गाउँपालिकाका विभिन्न वडाका ६० जना नागरिकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।

लमजुङको खुदी स्वास्थ्य चौकीमा आयोजना गरिएको यस विशेष शिविरमा सेवा लिन आउनेहरूमध्ये ३५ जना महिला र २५ जना पुरुष रहेका थिए। शिविरमा आएका सेवाग्राहीहरूलाई विशेषज्ञ चिकित्सकद्वारा मानसिक स्वास्थ्य परीक्षण गरिनुका साथै आवश्यक परामर्श र औषधि समेत निःशुल्क उपलब्ध गराइएको थियो।

पछिल्लो समय समाजमा मानसिक स्वास्थ्यको समस्या बढ्दै गइरहेका बेला गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराएपछि स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्। स्वास्थ्य शाखाले आगामी दिनमा पनि यस्ता प्रभावकारी स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ।

Comments Box