एनसेलले दियो तोडफोड, आगजनी र डकैतीको उजुरी



दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीमा उजुरी दिएको छ।

 

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको लैनचौरस्थित मुख्य कार्यलय ‘एनसेल आइकन’ मा २४ भदौमा जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना गराएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो।

 

उजुरीमा यी घटनासँग संलग्न अपराधीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाइ उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाइ भराइ पाऊँ भनी उल्लेख गरिएको छ।

 

आन्दोलनका नाममा अपराधीले समूह बनाइ कम्पनीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई एकै ठाउँमा राखेर जलाउने धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसा फुटाइ कार्यालयभित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरण तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समान तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपूर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख छ।

 

एनसेलले आफ्नो कार्यालयको १० वटै तलामा रहेका बहुमूल्य विद्युतीय सामान, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायत कार्यालयको काममा प्रयोग हुने सामान डकैती गरी लगेको, कर्मचारीलाई वितरण गरेको प्रत्येक लकर फोडेर ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहना डकैती गरेको, मिटिङ हलमा रहेको टीभी, मोनिटर तथा भवनको दोस्रो तलामा रहेको फिटनेसका सामान बाहिर फालेर केही उपकरण आगजनी गरेको पनि उजुरीमा उल्लेख छ।

यस्तै अधिकांश उपकरण डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेस्रो पक्षबाट भाडामा लिएका महँगा मोटरगाडी भेहिकल रुमबाट गाडीका साँचो नियन्त्रणमा लिई पालैपालो गरी भवनको आँगनमा ल्याई जलाएको र केही सवारीसाधन भवनको कम्पाउन्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्णरूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडी समेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाइएको छ।

 

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची उपलब्ध गराएको छ। साथै, घटना क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुग्ने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ।

 

तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्यांकन कार्य भइरहेको हुँदा अनुसन्धान सिलसिलामा त्यसको थप विवरण उपलब्ध गराउने पनि जानकारी उजुरीमा छ।

 

हामी फेरी उठ्ने छौं, तपाईंहरूसँगै

यससँगै एनसेलले “हामी फेरी उठ्ने छौं, तपाईंहरूसँगै, एनसेल नेपाल कै लागि” भएको जनाएको छ।

 

गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्‍याएको कुरा गहिरो दुःखका साथ पुष्टि गर्दछौं। यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएका थिए।

 

यी चुनौती हुँदाहुँदै पनि, आफ्नो संस्था सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको एनसेलले जनाएको छ। एनसेलले एक वक्तव्य मार्फत भनेको छ, “संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं। हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्‍याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्दछ।“

 

एनसेलले भनेको छ, “अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौं। देशका युवाहरूको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौं र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौं।“

 

एनसेलले भनेको छ, “२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुर्‍याउँदै आएको छ। आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छौं। हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौं र अहिलेसम्म प्रदान गर्नु भएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौं।“

 

एनसेलले अन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै, घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

 

 

यसअघि टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मंगलबारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढार शुक्रबारसम्म दिएको थियो। हालको विषम परिस्थितीमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरू एनसेलले मंगलबारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो। एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले बिना कुनै शुल्क लोकल भ्वाइस कल(एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाएका थिए।

 

 

Comments Box