Logo
Logo
समाचार

यी हुन् नेपाल र भारतबीच भएका ८ समझदारी

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न एकल तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा ती समझदारीहरू आदानप्रदान गरिएका हुन्

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ७ गते २०:१०
३१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतबीच विभिन्न आठवटा महत्त्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदान भएको छ । प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न एकल तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा ती समझदारीहरू आदानप्रदान गरिएका हुन् ।

दुवै देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तथा विधि विज्ञान, निजामती प्रशासन क्षमता अभिवृद्धि, स्वास्थ्य, आयुर्वेद, दिगो सहरी विकास र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको हो ।

१. भू–उपग्रह सञ्चार (स्याटकम) सञ्जाल स्थापना :

अन्तरिक्ष तथा सञ्चार प्रविधि क्षेत्रअन्तर्गत भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसियाली भू–उपग्रह (साउथ एसिया स्याटेलाइट) को उपयोगका लागि ‘स्याटेलाइट कम्युनिकेसन (स्याटकम) सञ्जाल’ स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२. विधि विज्ञानमा शैक्षिक तथा अनुसन्धान सहकार्य :

अपराध अनुसन्धान र विधि विज्ञानका क्षेत्रमा सहकार्य सुदृढ बनाउन गुजरातको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेस युनिभर्सिटी (एनएफएसयू) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी भएको छ ।

३. प्रहरी तथा सुरक्षा तालिम सहकार्य :

प्रहरी प्रशिक्षण र सुरक्षा क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच समझदारीपत्र आदानप्रदान गरिएको छ ।

४. निजामती कर्मचारी क्षमता अभिवृद्धि तालिम :

संस्थागत सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतको प्रशासनिक सुधार तथा जनगुनासो विभागअन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स (एनसीजीजी) र नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बीच नेपाली निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

५. स्वास्थ्य तथा औषधिजन्य क्षेत्रमा सहकार्य :

स्वास्थ्य सेवा र औषधि क्षेत्रको साझेदारीका लागि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्य तथा औषधिजन्य सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

६. आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिमा सहकार्य :

आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको संरक्षण, अनुसन्धान र ज्ञान आदानप्रदानका लागि दुवै देशबीच सरकार–सरकार (जीटूजी) स्तरको समझदारी भएको छ । यस समझदारीमा नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की र भारतको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाले हस्ताक्षर तथा आदानप्रदान गरेका हुन् ।

७. दिगो सहरी विकासमा प्राविधिक सहकार्य :

दिगो सहरी पूर्वाधार विकासका क्षेत्रमा भारतीय प्राविधिक ज्ञान, अनुभव र सहयोग आदानप्रदान गर्न दुवै सरकारबीच दिगो सहरी विकासमा प्राविधिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

८. पशुपन्छी तथा मत्स्यपालन विकासमा सहकार्य :

कृषि क्षेत्रअन्तर्गत पशुपन्छी तथा मत्स्यपालन विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न नेपाल र भारत सरकारबीच अर्को महत्त्वपूर्ण समझदारीपत्र आदानप्रदान भएको छ ।

उक्त समझदारीपत्र आदानप्रदानसँगै दुवै प्रधानमन्त्रीले नेपाल–भारत साझा भविष्यको खाका समेटिएको ‘संयुक्त दृष्टिकोण पत्र’ जारी गरेका छन् भने नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि भारतले २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेको छ । साथै, दुवै नेताले ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवासहित सीमापार सम्पर्क सञ्जाल, ऊर्जा र पेट्रोलियम पूर्वाधारका छवटा प्रमुख परियोजनाहरूको संयुक्त रूपमा उद्घाटन तथा शिलान्याससमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित