Logo
Logo
खेलकुद

यी १२ बलर जसले एनपीएलको समूह चरणमा लिए धेरै विकेट

प्रतियोगितामा ४ जना बलरले सर्वाधिक १२ विकेट लिएका छन् । उनीहरुमध्ये ३ जना नेपाली हुन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १ गते ००:५८
१४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । टि २० क्रिकेटलाई ब्याट्सम्यानको खेल पनि भन्ने गरिन्छ । तर नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा बलरहरु हाबी भइरहेका छन् ।

पीचले बलरलाई साथ दिएकाले ब्याटिङ चुनौतिपूर्ण बनिरहेको छ । समूह चरणका खेल सकिँदासम्म स्वेदशी र विदेशी बलरहरुको कडा प्रतिस्पर्धा देखिएको छ ।

बढी विकेट लिने १० जना बलरमध्ये ५ जना स्वदेशी छन् । शीर्ष १० को सूचीमा नेपालका स्थापित स्टार बलरहरुलाई पछि पार्दै उदियमान र अन्डररेटेड बलरहरुले स्थान बनाएका छन् ।

यसले आगामी दिनमा राष्ट्रिय टिमको प्रतिस्पर्धा घनिभूत बन्ने आँकलन गर्न सकिन्छ । प्रतियोगितामा ४ जना बलरले सर्वाधिक १२ विकेट लिएका छन् । उनीहरुमध्ये ३ जना नेपाली हुन् ।

जनकपुर बोल्ट्सका राहुल यादव, चितवन राइनोजका कमलसिंह ऐरी र रिजन ढकाल तथा काठमान्डु गोर्खाजका पाकिस्तानी बलर जहानदाद खानले १२–१२ विकेट लिन सफल भएका छन् ।

उनीहरुमध्ये राहुलको टीम जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिएको छ भन् अन्य तीन बलरहरुले प्लेअफ खेल्नेछन् ।

एनपीएलको तेस्रो संस्करणअघि कसैले नचिनेका राहुल यादवले सात खेलमा १२ विकेट लिए । उनी प्रतियोगिताकै सरप्राइज प्याकेज हुन् । जनकपुरले उनलाई ट्यालेन्ट हन्टबाट छानेको थियो ।

राहुलको उत्कृष्ट बलिङ ३१ रन दिएर चार विकेट लिनु हो । उनले २३ ओभर बलिङ गर्दै १५८ रन खर्चिएका छन् । उनको बलिङ औसत १३.१७ र इकोनोमी ६.८७ छ ।

राहुलको प्रदर्शन जनकपुरका लागि महत्त्वपूर्ण रह्यो । विपक्षी टोलीका ब्याटरलाई दबाबमा राख्दै नियमित विकेट निकाल्न सक्नु उनको विशेषता देखिएको छ ।

चितवनका कमलसिंह ऐरीले केवल ५ खेलमै १२ विकेट लिएका छन् । उनी शीर्ष चारमध्ये सबैभन्दा कम खेल खेलेर १२ विकेट लिने बलर हुन् । उनको उत्कृष्ट बलिङ २६ रन दिएर चार विकेट लिनु हो ।

बलिङ औसत ८.५८ रहेको कमलसिंहले शीर्ष चारमध्ये उत्कृष्ट औसत कायम गरेका छन् ।

लामो समयदेखि राष्ट्रिय टीममा पर्न नसकिरहेका कमलले एनपीएलमा गरेको प्रदर्शनबाट पक्कै चयनकर्ताहरुको ध्यानाकर्षण गर्ने छ ।

चितवनकै अर्का नेपाली बलर रिजन ढकालले पनि ६ खेलमा १२ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २४ रन दिएर चार विकेट लिनु हो । उनको बलिङ औसत १०.५० छ । रिजनले १९ ओभर बलिङ गर्दै १२६ रन खर्चिएका छन् ।

काठमान्डु गोर्खाजका पाकिस्तानी बलर जहानदाद खानले पनि सात खेलमा १२ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २३ रन दिएर चार विकेट लिनु हो ।

उनले २५.३ ओभर बलिङ गर्दै १९८ रन खर्चिएका छन् । उनको बलिङ औसत १६.५० र इकोनोमी ७.७६ छ ।

१२ विकेट लिने चार बलरपछि जनकपुर बोल्ट्सका अमेरिकी अलराउन्डर हरमीत सिंह र कर्णाली याक्सका लागि खेलिरहेका स्कटल्यान्डका स्पिनर मार्क वाट छन् । दुवैले समान ११–११ विकेट लिएका छन् ।

हरमीत सिंहले सात खेलमा ११ विकेट लिएका हुन् । उनको उत्कृष्ट बलिङ १७ रन दिएर चार विकेट लिनु हो । उनले २६.३ ओभर बलिङ गर्दै १५० रन खर्चिएका छन् । उनको इकोनोमी ५.६६ छ । सर्वाधिक विकेट लिने सूचीमा रहेका बलरमध्ये उनको इकोनोमी सबैभन्दा राम्रो देखिन्छ ।

मार्क वाटले पनि सात खेलमा ११ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ १२ रन दिएर चार विकेट लिनु हो । उनले २६ ओभर बलिङ गर्दै १६१ रन खर्चिएका छन् । उनको बलिङ औसत १४.६४ र इकोनोमी ६.१९ छ ।

हरमीतको किफायती बलिङ र मार्कको विकेट निकाल्ने क्षमताले उनीहरूलाई प्रतियोगिताका प्रभावशाली विदेशी बलर बनाएको छ ।

१० विकेट लिनेमा सुदूरपश्चिम रोयल्सका अनिल खरेल तथा कर्णाली याक्सका सोमपाल कामी र पाकिस्तानी अलराउन्डर हुसैन तलात छन् ।

अनिल खरेलले ६ खेलमा १० विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ २३ रन दिएर तीन विकेट लिनु हो । उनले १६.५ ओभर बलिङ गर्दै ९१ रन खर्चिएका छन् । उनको बलिङ औसत ९.१० र इकोनोमी ५.४१ छ ।

१० विकेट लिने खेलाडीमध्ये अनिलको बलिङ औसत र इकोनोमी दुवै उत्कृष्ट छ । कम रन खर्चेर विपक्षी ब्याटरलाई दबाबमा राख्ने उनको क्षमताले सुदूरपश्चिमलाई फाइदा पुगेको छ ।

कर्णालीका पाकिस्तानी खेलाडी तलातले ६ खेलमा १० विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ १७ रन दिएर तीन विकेट लिनु हो । उनले १८.५ ओभर बलिङ गर्दै १४० रन खर्चिएका छन् । उनको इकोनोमी ७.४३ छ ।

कर्णालीकै अनुभवी नेपाली बलर सोमपाल कामीले सात खेलमा १० विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ ३३ रन दिएर चार विकेट लिनु हो । उनले २० ओभर बलिङ गर्दै १७८ रन खर्चिएका छन् ।

उनको बलिङ औसत १७.८० र इकोनोमी ८.९० छ । सोमपालको इकोनोमी केही महँगो भए पनि विकेट निकाल्ने क्षमताले उनलाई शीर्ष सूचीमा राखेको छ ।

नौ विकेट लिने खेलाडीमा लुम्बिनी लायन्सका शेर मल्ल, पोखरा एभेन्जर्सका विपिन खत्री र सुदूरपश्चिम रोयल्सका स्कट कुगलेइन छन् ।

शेर मल्लले ६ खेलमा नौ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ ११ रन दिएर तीन विकेट लिनु हो । उनले २२ ओभर बलिङ गर्दै १२० रन खर्चिएका छन् । उनको इकोनोमी ५.४५ छ ।

विपिन खत्रीले सात खेलमा नौ विकेट लिएका छन् । उनले २०.३ ओभर बलिङ गर्दै १६७ रन खर्चिएका छन् । उनको उत्कृष्ट बलिङ २८ रन दिएर तीन विकेट लिनु हो ।

सुदूरपश्चिमका विदेशी बलर स्कट कुगलेइनले पनि सात खेलमा नौ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ १३ रन दिएर तीन विकेट लिनु हो । उनले २३ ओभर बलिङ गर्दै १८९ रन खर्चिएका छन् ।

नेपाली बलरको उल्लेखनीय उपस्थिति

समूह चरणको बलिङ तथ्यांक हेर्दा नेपाली खेलाडीको प्रदर्शन उत्साहजनक देखिन्छ ।

सर्वाधिक विकेट लिने सूचीको शीर्ष चारमध्ये तीन जना नेपाली छन् । १० विकेट लिने समूहमा पनि नेपाली खेलाडी हाबी छन् । कुल मिलाएर विकेटका आधारमा १० जना उत्कृष्ट बलरमध्ये ६ जना स्वेदेशी छन् ।

एनपीएलमा विदेशी खेलाडीको अनुभव र क्षमताको चर्चा हुने गरे पनि समूह चरणको बलिङ तथ्यांकले नेपाली खेलाडी पनि कम छैनन् भन्ने देखाएको छ ।

विशेषगरी युवा नेपाली बलरको प्रदर्शनले राष्ट्रिय टोलीका लागि समेत विकल्पहरु थपिएका छन् ।

एनपीएल २०२६ः समूह चरणमा सर्वाधिक विकेट लिने १० बलर
१. कमलसिंह ऐरी (चितवन राइनोज) – १२ विकेट (६ खेल)
२. रिजन ढकाल (चितवन राइनोज) – १२ विकेट (६ खेल)
३. राहुल यादव (जनकपुर बोल्ट्स) – १२ विकेट (७ खेल)
४. जहानदाद खान (काठमान्डु गोर्खाज) – १२ विकेट (७ खेल)
५. हरमीत सिंह (जनकपुर बोल्ट्स) – ११ विकेट (७ खेल)
६. मार्क वाट (कर्णाली याक्स) – ११ विकेट (७ खेल)
७. अनिल खरेल (सुदूरपश्चिम रोयल्स) – १० विकेट (७ खेल)
८. हुसैन तलात (कर्णाली याक्स) – १० विकेट (६ खेल)
९. सोमपाल कामी (कर्णाली याक्स) – १० विकेट (७ खेल)
१०. शेर मल्ल (लुम्बिनी लायन्स) – ९ विकेट (६ खेल)
११. विपिन खत्री (पोखरा एभेन्जर्स) – ९ विकेट (७ खेल)
१२. स्कट कुगलेइन (सुदूरपश्चिम रोयल्स) – ९ विकेट (७ खेल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित