यस वर्ष भाइटिकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा
नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटिकाका लागि उक्त समय शुभसाइत निर्धारण गरिएको हो।

काठमाडौँ । यस वर्षको भाइटिकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको जनाइएको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटिकाका लागि उक्त समय शुभसाइत निर्धारण गरिएको हो।
समितिका अनुसार यस वर्ष यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। सो दिन धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरि जयन्ती मनाइनेछ।
कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ समेत प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटिका मनाइनेछ। सो दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने परम्परा छ।
समितिले भाइटिकाका अवसरमा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनु उपयुक्त हुने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




