यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने
सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने होटल एवं रेष्टुरेन्ट र सवारी चालकहरूमाथि कडा कारबाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ, बासी र न्यून गुणस्तरको खाना खुवाउने तथा अत्यधिक मूल्य असुल्ने होटल एवं रेष्टुरेन्ट र सवारी चालकहरूमाथि कडा कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सार्वजनिक यात्रुवाहक सवारीका चालक, होटल व्यवसायी तथा यात्रीहरूका लागि विशेष निर्देशन जारी गरेको हो।
विभागका अनुसार राजमार्गका होटलहरूमा सरसफाइको कमी, बासी र झिँगा भन्केको खाना खुवाइएको र चर्को मूल्य लिने गरिएको व्यापक जनगुनासो आएपछि सम्बन्धित निकायहरूको बैठक बसेर यस्तो निर्णय गरिएको हो । नयाँ व्यवस्था अनुसार सार्वजनिक सवारीका चालकहरूले सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका सफा, स्वच्छ र गुणस्तरीय होटल/रेष्टुरेन्टहरूमा मात्रै खाजा तथा खानाका लागि गाडी रोक्नुपर्नेछ ।
न्यून गुणस्तरको खानाका कारण यात्रीहरू बिरामी परेको गुनासोलाई लिएर सम्बन्धित निकायहरूले सूक्ष्म निगरानी गरिरहेको र त्यस्तो पाइएमा सवारी चालक र होटल सञ्चालक दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विभागका निर्देशक मणिराम भुसालले जानकारी दिएका छन् ।
साथै, खानाको स्वच्छता र गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएमा यात्रीहरूले तत्काल नेपाल प्रहरीको हेल्पलाइन नम्बर १००, नजिकैको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र त्यसका कार्यालयहरूमा सम्पर्क गरी जानकारी गराउन समेत विभागले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




