विपद्मा सरकारको स्टनबाजी : विदेशी विज्ञलाई १० दिन रोक्नु सामान्य कमजोरी होइन- केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेर थुनिएका नागरिकलाई सरकार आफैले पनि समयमा उद्दार गर्न नसकेको र विदेशी विज्ञहरुलाई पनि १० दिनसम्म रोकेर गम्भीर अपराध गरेको बताएका छन् ।
आज पार्टी कार्यालयमा पार्टीका स्वयंसेवकहरुलाई विपदका विषयमा जानकारी दिँदै यस्तो अवस्थामा आफ्ना सबै काम छाडेर उद्धारमा खटिएकोमा धन्यवाद दिएका छन् ।
उनले विपदको अवस्थामा सरकारको आलोचना गर्ने मन नभएको तर गम्भीर कमजोरी पटकपटक दोहोराएकाले खबरदारी गरेको बताएका छन् ।
‘राज्यको आलोचना गर्ने समय होइन यो, तर पटक पटक गम्भीर कमजोरी भएपछि देखाएको हो, राज्यले सबै हेलिकोप्टर कब्जा गरेर हामी नेपाललाई घुम्न दिने अरुलाई वास्तै नगर्ने गम्भीर दुरुपयोग गरेको छ, उद्दारका काम गर्ने संस्था र विज्ञलाई नदिएर गम्भीर कमजोरी भएको छ’, उनले भनेका छन्, ‘हामी नेपाल पार्टीको नेतृत्वमा सरकार रहेको जस्तो अहिले देखिएको छ । यो हामीले मात्र होइन सत्तारुढ दलकै मान्छेले भनेका छन् ।’
अध्यक्ष ओलीले विपदमा सरकार आफैले पनि नगर्ने र बाहिरबाट आएका विज्ञहरुलाई रोकेर गम्भीर कमजोरी गरेको आरोप लगाएका छन् ।
‘विदेशबाट पनि धेरै विज्ञ आए तर १० दिनसम्म अरुलाई पस्न पनि नदिने र आफूले पनि सुरुङबाट ननिकाल्ने सामान्य कमजोरी होइन’, उनले भने, ‘सुरक्षा निकायलाई अनावश्यक दवावमा काम नगर्न र कानुन विपरीतका कामहरु नगर्न आग्रह छ, सधै यस्ता कमजोरी गर्नेहरु सत्तामा रहदैनन् ।’अध्यक्ष ओलीले सरकारमा रहेकाहरुमा सामान्य राजनीतिक चेतना पनि नभएको आरोप लगाए ।
‘हामीले जेलनेल सबै भोगेका छौँ, राजनीतिको आधारभूत विषयहरु ज्ञान छ, कुनै चिट्टा परेर आएका थिएनौं, चुनाव अर्कोपटक पनि हुन्छ अहिले चिट्टा परेकाको अवस्था के हुन्छ हेरौँला’, उनले भने, ‘ हामी विपदमा सरकारलाई साथ दिन तयार छौं तर सरकारले साथ लिनै खोजेको छैन । एमाले आफैले यति ठूलो शक्ति लगाएर उद्दारमा खटियो, यो पीडित पक्षले देखेको विषय हो ।’
उनले सरकारलाई सुझाव दिन पाइने खबरदारी गर्न पाइन्छ तर यसरी स्टनबाजी गर्ने संघीय सरकारले कसरी सेवा दिन सक्छ भन्ने प्रश्न पीडितले नै उठाएको बताए ।
‘बागमति प्रदेश सरकारले गरेका कामले केन्द्र सरकारको मुख टालिएको छ । लज्जित बनाएको होला । शिक्षाका क्षेत्रमा उद्दारका क्षेत्रमा बागमतिले काम गरेर देखायो, तर केन्द्रले नबनेको बेलीब्रिज बन्यो भनेर प्रचार गर्न लगायो’, उनले भने ।
विपदमा एमालेको बलियो साथ रहेको, जनतालाई सकेसम्म छिटो उद्दार गर्नका लागि गरेको योगदान गरेका आफ्ना कार्यकर्ताप्रति उनले उच्च प्रंशसा गरे । ‘एमालेको परिचय दिनुभएको छ, स्टनबाजी गर्ने पार्टी होइन, भेदभाव र पक्षपात गर्ने पार्टी होइन, पीडितहरुको परिचय खुलाएर सेवा दिने होइन आवश्यकताका आधारमा सेवा दिने हो’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



