विपद् प्रतिकार्यमा सरकारको बचाउ गर्दै रविले भने : ‘यति ठूलो हवाई उद्धार अभियान विरलै भएको थियो’
‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ,’ उनले भने, ‘विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो।’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको खोज, उद्धार, उपचार र राहतमा सरकारले प्रभावकारी रूपमा काम गरेको भन्दै विपद् प्रतिकार्यको बचाउ गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै लामिछानेले विपद्का बेला सरकारको कामलाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट मुल्यांकन गर्न नहुने बताए।
‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ,’ उनले भने, ‘विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो।’
हवाई उद्धार अभियानको प्रशंसा
विपद् प्रभावित क्षेत्रमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै लामिछानेले हवाई माध्यमबाट सञ्चालन भएको उद्धार अभियानको प्रशंसा गरे।
‘हजारौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिए,’ उनले भने, ‘तथ्यसहित भन्न सकिन्छ, हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको थियो।’
सरकारी तत्परतामाथि प्रश्न गर्ने ठाउँ नरहेको दाबी
लामिछानेले घाइतेको उद्धार तथा उपचार, विस्थापितको अस्थायी बसोबास र प्रभावित नागरिकका लागि खाद्यान्न व्यवस्थापनमा सरकारले तत्परता देखाएको बताए।
यी काममा सरकारले देखाएको सक्रियताका आधारमा तत्काल प्रश्न उठाउने ठाउँ आफूले नदेखेको उनको भनाइ थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




