विद्युत सेवा प्रवाहलाई चुस्त बनाउन मन्त्री श्रेष्ठको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्।

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्।
विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडामा आयोजित आन्तरिक कार्यालयसम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत चुहावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मतसम्भारमा विशेष ध्यान दिन निर्देशन दिए।
मन्त्री श्रेष्ठले प्राधिकरणको नेतृत्व उत्कृष्टताको आधारमा अघि बढिरहेको उल्लेख गर्दै विपद्का समयमा समेत विद्युत सेवा पुन: सञ्चालनका लागि कर्मचारीले गरेको कामको प्रशंसा गरे। उनले सेवा सुधारको प्रयास सकारात्मक भए पनि अझै धेरै काम गर्न बाँकी रहेको धारणा राखे।
मन्त्री श्रेष्ठले मौसमी खराबीका कारण विद्युत् अवरुद्ध वा ट्रिपिङ हुँदा ग्राहकहरूलाई समयमै सही सूचना प्रवाह गर्ने र वितरण कार्यालयहरूले तुरुन्त सम्बोधन गरी नागरिकप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताए।
उनले हेटौँडा औद्योगिक क्षेत्रबाट ४० मेगावाटसम्म विद्युत्को प्रारम्भिक माग आएकोले सोको पूर्वतयारी र बक्यौता असुलीमा कडाइ गर्नुपर्ने धारणा राखे।
हेटौँडा डिभिजन पूर्व–पश्चिम विद्युत् आदानप्रदानको प्रमुख हब र नेपालको ऊर्जा मेरुदण्ड बन्दै गएकाले सोही अनुसारको संरचनागत तयारी गर्नुपर्ने उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




