Logo
Logo
समाचार

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर ५ गते २२:१४
६३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

मुस्ताङ । उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, संस्थागत तथा गुम्बा विद्यालयले गाउँपालिकाको समन्वयमा मङ्सिर १ गतेदेखि बेसीका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेका हुन् । उपल्लो मुस्ताङमा हरेक वर्ष हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने भएकाले विद्यालयलाई अस्थायी रूपमा बेसी सार्ने गरिएको छ ।

लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम गिरीका अनुसार हिउँदयाममा अत्यधिक चिसो र हिमपातका कारण विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा असर पर्ने भएकाले विद्यालयलाई बेसी सारिएको हो । चालु शैक्षिक सत्रको अन्त्यपछि गर्मीयाम सुरु हुँदा विद्यालय पुनः साविककै स्थानमा फर्कनेछन् ।

लोमान्थाङ गाउँपालिकाका लेखा अधिकृत उज्ज्वल चापागाईँका अनुसार गाउँपालिकाका तीन सामुदायिक र चार संस्थागत विद्यालय बेसी झरेका छन् । सामुदायिकतर्फ दिव्यदीप माध्यमिक विद्यालय, छोनुप झिन्जु आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयले घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

त्यस्तै, मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि बेसी झरेका छन् । दिव्यदीप माध्यमिक विद्यालयले पोखराको विजयपुर, छोनुप झिन्जु आधारभूत विद्यालयले हेमजा र राष्ट्रिय आधारभूत विद्यालयले तालबेसी किमबेसीमा घुम्ती कक्षा सञ्चालन गरेका छन् । दिव्यदीप र छोनुप झिन्जु विद्यालयले आफ्नै भवनमा तथा राष्ट्रिय आधारभूत विद्यालयले भाडाको भवनमा कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

लोमान्थाङका सामुदायिक विद्यालयलाई घुम्ती कक्षा सञ्चालन गर्न सङ्घीय सरकारबाट सशर्त अनुदानस्वरूप प्रतिविद्यालय तीन लाख ५० हजार विनियोजन गरिएको छ ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका तीन सामुदायिक र दुई धार्मिक गुम्बा विद्यालय पनि घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् । गाउँपालिकाका शिक्षा अधिकृत भीम नेपालीका अनुसार चराङ आधारभूत, घमी आधारभूत र जनज्योति माध्यमिक विद्यालयका १८८ विद्यार्थीलाई बेसी सारिएको छ । चराङ छोदे गुम्बा र आनी गुम्बा विद्यालयले पनि घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

लोघेकरका चराङ आधारभूत विद्यालयले पोखराको हेमजा, घमी आधारभूत विद्यालयले विजयपुर र जनज्योति माध्यमिक विद्यालयले तनहुँको दुलेगौडामा भाडाका भवनमा कक्षा सञ्चालन गरेका छन् । घुम्ती कक्षा सञ्चालनका लागि गाउँपालिकाले सामुदायिक विद्यालयलाई २६ लाख बजेट विनियोजन गरेको शिक्षा अधिकृत नेपालीले जानकारी दिए ।

दुवै गाउँपालिकाबाट सामुदायिक विद्यालयका ३६५ विद्यार्थीलाई जाडो छल्न बेसी झारिएको छ । तीमध्ये लोमान्थाङका १७७ र लोघेकर दामोदरकुण्डका १८८ विद्यार्थी छन् । घुम्ती विद्यालय सञ्चालनले अभिभावकलाई पनि सहज भएको छ । विद्यालयमै विद्यार्थीको रेखदेख र पठनपाठन हुने भएकाले अभिभावकलाई बेसीमा आएर व्यापार व्यवसाय गर्न तथा अन्य काममा संलग्न हुन सजिलो भएको छ । हिउँदयाममा उपल्लो मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झर्ने गर्छन्। उनीहरू विद्यार्थीहरूसँगै गर्मीयाम सुरु भएपछि वैशाखमा पुनः गाउँ फर्कने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित