Logo
Logo
समाचार

त्रिभुवन विमानस्थल भन्सारमा पहिलो महिला नेतृत्व, प्रमुख भन्सार प्रशासक बनिन् पार्वती अर्याल

अर्थ मन्त्रालयले सहसचिव पार्वती अर्याललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिएको छ

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १० गते २२:१०
१४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव पार्वती अर्याललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिएको छ ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार बिहीबार भएको मन्त्रीस्तरीय निर्णयबाट अर्याललाई उक्त जिम्मेवारी दिइएको हो । यससँगै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आफ्नो इतिहासमा पहिलो पटक महिला नेतृत्व पाएको छ ।

चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा ‘मिनिस्टर (इकोनोमिक)’ का रूपमा कार्यरत अर्याल परराष्ट्र मन्त्रालयको नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) बाट नेपाल प्रशासन सेवातर्फको सहसचिवको उक्त दरबन्दी कटौती भएपछि स्वदेश फर्किएकी थिइन् । गत मङ्सिर ४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई परराष्ट्र मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो ।

कामकाजी, निर्णय क्षमता र सुधारमुखी कार्यशैलीका लागि परिचित अर्यालले यसअघि आफूले नेतृत्व गरेका निकायमा संस्थागत सुधार, प्रशासनिक अनुशासन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विभिन्न पहल गरेकी थिइन् ।

वैदेशिक रोजगार कार्यालय ताहाचलको नेतृत्वमा रहँदा उनले श्रम स्वीकृति प्रक्रियाको निगरानी, सूचना प्रणालीको परीक्षण तथा कार्यालयको कार्यप्रणाली सुधारमा जोड दिएकी थिइन् । व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग नियन्त्रण गर्नसमेत उनले निगरानी बढाएकी थिइन् ।

राष्ट्रिय महिला आयोगको सचिवका रूपमा १५ महिना कार्यरत रहँदा अर्यालले पदाधिकारी तथा कर्मचारीको आचारसंहिता कार्यान्वयन, निर्णय प्रक्रिया व्यवस्थित गर्ने तथा अध्ययन र अनुसन्धानलाई संस्थागत बनाउने अभ्यास अघि बढाएकी थिइन् । 

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा अनुसन्धान गर्ने पद्धतिसमेत उनले अघि बढाएकी थिइन् ।

भन्सार जाँचपासपछिको परीक्षण कार्यालयको नेतृत्वसमेत गरिसकेकी अर्यालसँग भन्सार प्रशासन, सार्वजनिक व्यवस्थापन, श्रम तथा आर्थिक कूटनीतिको अनुभव छ । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) मा श्रम सहचारीका रूपमा समेत काम गरेकी थिइन् ।

तत्कालीन प्रमुख भन्सार प्रशासक रामकृष्ण पुडासैनीलाई असोज १३ गतेको मन्त्रिपरिषद् बैठकले घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेपछि विमानस्थल भन्सार कार्यालय झन्डै दुई महिनादेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो

यसअघि विभिन्न समयमा रामकृष्ण पुडासैनी, विष्णुप्रसाद ज्ञवाली, टंकनाथ लम्साल, दिलिपकुमार गौतम, महेश बराल, डा. टोकराज पाण्डेय, अरुण पोखरेल, महेश भट्टराई, लक्ष्मीप्रसाद निरौला, विष्णुराज ढकाल र गजेन्द्रकुमार ठाकुरलगायतले विमानस्थल भन्सार कार्यालयको नेतृत्व सम्हालेका थिए ।

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, राजस्व सङ्कलन, राजस्व चुहावट नियन्त्रण तथा अवैध वस्तुको ओसारपसार रोकथामका दृष्टिले रणनीतिक महत्त्व राख्ने विमानस्थल भन्सार कार्यालयमा अर्यालको प्रशासनिक अनुभव, निर्णय क्षमता र सुधारमुखी कार्यशैलीको अर्को परीक्षण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित