Logo
Logo
समाचार

ट्रम्पलाई ‘मार्ने’ धम्कीसहित इरानले सार्वजनिक गर्‍यो होर्डिङ बोर्ड

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १७ गते २३:५५
४४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ – इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानरहरू मंगलबार राजधानी तेहरानका विभिन्न स्थानमा सार्वजनिक गरेको छ।

यसले राजधानीमा देखिँदै आएको सरकार समर्थित राजनीतिक प्रचारलाई थप आक्रामक बनाएको छ।

तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानका विभिन्न स्थानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका होर्डिङ बोर्ड तथा प्रचार सामग्री राखिँदै आएका छन्।

यसैबीच, पछिल्ला दिनहरूमा तेहरान र वासिङ्टनलाई वार्ताको टेबलमा ल्याउन नयाँ कूटनीतिक प्रयास भइरहेका छन्। यसको उद्देश्य मध्यपूर्वमा फैलिएको युद्ध पुनः चर्किन नदिनु हो। उक्त युद्धका कारण विश्वभर मूल्यवृद्धि भएको छ।

अमेरिकामा मंगलबार महत्वपूर्ण मध्यावधि निर्वाचन हुँदै गर्दा ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन्। इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि बढिरहेका बेला निर्वाचन हुन लागेको हो।

उत्तरी तेहरानको व्यस्त ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पका विभिन्न चित्रहरू राखिएका छन्। तीमध्ये एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा भुइँमा देखाइएको छ भने अर्को व्यक्तिको खुट्टा उनको टाउकोमाथि रहेको चित्रण गरिएको छ।

अर्को चित्रमा ट्रम्पको अनुहार बमले छोपिएको देखाइएको छ। उक्त चित्र बेल्जियमका अतियथार्थवादी चित्रकार रेने माग्रिटको सन् १९६४ को चर्चित चित्र ‘द सन अफ म्यान’बाट प्रेरित देखिन्छ।

प्रदर्शनी नजिकै जेलको कोठाजस्तो संरचना पनि बनाइएको छ। त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गर्छन्। त्यसको छेउमा राखिएको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्यहरू देखाइन्छन्।

इरानले युद्धका क्रममा अमेरिकाले विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाएको आरोप लगाउँदै आएको छ। ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिसको मृत्यु भएको इरानको दाबी छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ बोर्ड र भित्तेचित्र राख्ने परम्परा रहँदै आएको छ।

यस्ता प्रचार सामग्रीमार्फत सहयोगीहरूलाई सम्मान गर्ने, सैन्य व्यक्तित्वहरूको प्रशंसा गर्ने र विशेषगरी अमेरिका तथा इजरायलजस्ता विरोधी राष्ट्रलाई राजनीतिक सन्देश दिने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित