तिलोत्तमामा नयाँ पर्यटकीय गन्तव्य थपियो, कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालन
तिलोत्तमा नगरपालिकाको नगर गौरव आयोजनाअन्तर्गत एक करोड २६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको फाउन्टेनले नगरको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ।

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका-६, कुञ्जलापुरस्थित कुञ्जपार्कमा म्युजिकल वाटर फाउन्टेन सञ्चालनमा आएको छ।
तिलोत्तमा नगरपालिकाको नगर गौरव आयोजनाअन्तर्गत एक करोड २६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको फाउन्टेनले नगरको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ।
फाउन्टेनको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गरेका हुन्।
सात बिघा क्षेत्रफलमा फैलिएको कुञ्जपार्कको मुख्य आकर्षणका रूपमा म्युजिकल वाटर फाउन्टेनलाई लिइएको छ।
संगीतको तालअनुसार पानीका फोहरा सञ्चालन हुने र रंगीन बत्तीको संयोजनले फाउन्टेनलाई थप आकर्षक बनाएको छ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख खाणले तिलोत्तमा नगरपालिकाले नयाँ तथा सिर्जनात्मक कामलाई प्राथमिकता दिँदै आएको बताए।
उनले म्युजिकल वाटर फाउन्टेन लुम्बिनी तथा आसपासका क्षेत्र घुम्न आउने पर्यटकका लागि नयाँ आकर्षण बन्ने विश्वास व्यक्त गरे। यसले तिलोत्तमाको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने उनको भनाइ थियो।
नगरपालिकाले कुञ्जपार्कसँगै बनबाटिका, बाऊन्नकोटी, जमुहानी पार्कलगायतका पर्यटकीय क्षेत्रलाई जोडेर पर्यटन विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
नगरका विभिन्न पार्कलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरी पर्यटकलाई धेरै स्थानको भ्रमण गर्न आकर्षित गर्ने उद्देश्यले पूर्वाधारमा लगानी गरिएको नगरपालिकाले जनाएको छ।
नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले पर्यटन पूर्वाधारमा लगानी बढाएर पर्यटकको आगमन वृद्धि गर्ने र त्यसबाट स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य नगरपालिकाले लिएको बताइन्।
नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीका अनुसार फाउन्टेनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा निर्माण लागत करिब एक करोड ५० लाख रुपैयाँ अनुमान गरिएको थियो। तर निर्माण व्यवसायीले एक करोड २६ लाख रुपैयाँमा निर्माण सम्पन्न गरेका हुन्।
कुञ्जपार्कका अध्यक्ष लोक पुनका अनुसार विगतमा गौचरन र काँडेझाडी रहेको उक्त स्थानलाई स्थानीय झरना स्पोर्टस् क्लबले २०६६ सालदेखि झाडी सफा गर्दै पार्कका रूपमा विकास गर्न थालेको हो।
स्थानीयको पहलबाट सुरु भएको पार्क अहिले पर्यटकीय आकर्षणका रूपमा विकास हुँदै गएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




