Logo
Logo
समाचार

ठुला चाडपर्व सकिएपछि आन्दोलन हुन सक्ने सुरक्षा ब्रिफिङ

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १४ गते १९:४४
१३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेल मञ्चमा बोल्दै गर्दा सिरहाको औरही गाउँपालिकामा होहल्ला गरियो । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा भएको कार्यक्रम स्थलमा विरोध भएपछि भदौ २७ मा मञ्चमा भाषण गर्दै गरेका मन्त्री पोखरेल कार्यक्रम छाडेर निस्किए ।

हलमा उनको विरोधमा हल्लाखल्ला भएको थियो । सो घटनाबारे पोखरेलले सार्वजनिक रूपमा भनेका छन्, ‘दुईजना व्यक्तिले हल्ला गरेपछि शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेपछि म कार्यक्रमबाट बाहिरिएँ ।’

सुरक्षा निकायले सो घटनालाई सामान्य होहल्लाको रूपमा मात्रै लिएको छैन । सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीविरुद्ध भएको सो घटनापछि सुरक्षा निकायले समाजमा असन्तुष्टिको स्वर बढ्दै गएको ‘सङ्केत’ को रूपमा विश्लेषण गरेको छ । २०८२ भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणपछि असन्तुष्टि बढ्दै गएको भन्दै सुरक्षा निकायहरूले ‘आन्दोलन हुन सक्ने’ विश्लेषण गरेका छन् ।

दसैँ, तिहार र छठ पर्व सकिएपछि काठमाडौँ केन्द्रित आन्दोलन हुन सक्ने सुरक्षा विश्लेषण गरिएको छ । प्रहरी र सशस्त्रले आन्दोलनको सम्भावनाबारे गृह मन्त्रालयमा ‘ब्रिफिङ’ गरेका छन् ।

आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले गृहमन्त्री सुधन गुरुङलाई त्यसबारे जानकारी गराएका हुन् । एकजना उच्च सुरक्षा अधिकृत भन्छन्, ‘आन्दोलनको सम्भावना रहेको मौखिक रिपोर्ट भएको छ ।’

नेकपा एमालेका सचिव महेश बस्नेतले छठपछि सशक्त आन्दोलन हुने बताएका छन् । असोज ८ मा एमालेको केन्द्रीय समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मधेससहित देशभर नै आन्दोलन हुने दाबी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनको पहिलो मुख्य कार्यभारमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने आशयको वाक्यांश छ । केन्द्रीय समिति बैठकमा उपाध्यक्ष गोकर्ण विष्टले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्न खोजिए सो कदम आत्मघाती र विनाशकारी हुने धारणा राखेका थिए ।

प्रतिनिधिसभाका विपक्षी दलहरूले आन्दोलनको चेतावनी दिनु सामान्य भए पनि सत्तारूढ रास्वपाका मानिसहरूबाट पनि त्यस्तो आवाज सुनिएको छ । जेनजीका असन्तुष्ट समूह, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र नदी किनारबाट हटाइएका सुकुमबासीहरूले सरकारविरुद्ध आवाज उठाइरहेको अवस्था छ ।

तर, आन्दोलनका लागि अहिले चाडबाड र मौसमले साथ नदिएको एकजना उच्च सुरक्षा अधिकृतले बताए । उनले भने, ‘चाडपर्व र खेतीको सिजन सकिएपछि मङ्सिरतिर आन्दोलन हुने सम्भावना देखिन्छ ।’

गएका वर्षहरूमा पनि आन्दोलन हुँदै आएको थियो । सुरक्षा अधिकृतहरू मङ्सिरभन्दा पछि काठमाडौँ केन्द्रित प्रदर्शनलाई ‘आन्दोलनको सिजन’ भन्छन् ।

कात्तिक ४ मा विजयादशमी, २५ गते भाइटीका र कात्तिक २९ मा छठ पर्व छ । सुरक्षा प्रमुखहरूले गृह मन्त्रालयमा भएका औपचारिक र अनौपचारिक छलफलमा आन्दोलनको सम्भावनाबारे जानकारी गराउँदै आएका छन् । गृह मन्त्रालयका एकजना उच्च अधिकृत भन्छन्, ‘असन्तुष्टिको स्वर बढेको र प्रदर्शन हुन सक्नेबारे सरकारलाई जानकारी छ ।’

गुप्तचरको लिखित रिपोर्ट

राष्ट्रिय अनुसन्धान विभागले कात्तिक महिनापछि आन्दोलन हुन सक्ने लिखित रिपोर्ट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रधानमन्त्रीको मातहत रहेको राअविका प्रमुख टेकेन्द्र कार्कीले प्रधानमन्त्रीको सचिवालय र मुख्यसचिवलाई आन्दोलनको सम्भावना औँल्याउँदै लिखित रिपोर्ट बुझाएको एकजना उच्च सुरक्षा अधिकृतले बताए ।

सम्भावित घटना विश्लेषण गरिएको रिपोर्ट विभागले प्रधानमन्त्री, गृहमन्त्री, मुख्यसचिव, गृहसचिव, राष्ट्रिय सुरक्षा परिषद् र सेनाको डीजीएमआईलाई बुझाएको छ । यसअघि पनि विभागले त्यस्तो रिपोर्ट दैनिक र साप्ताहिक रूपमा बुझाउने गरेको थियो । साप्ताहिक रूपमा सिलबन्दी रिपोर्ट राष्ट्रिय सुरक्षा परिषद्‌सहित १४ निकायमा पठाउने गरिएको विभागका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

राअविले हतियार उठाउने समूह र राज्य विप्लव गर्ने समूहको सूचना पनि सङ्कलन गर्दै आएको छ । राज्यविरुद्ध हुन सक्ने जासुसी, अन्तर्ध्वंस र भड्काउपूर्ण गतिविधिको सूचना सङ्कलनमा विभागका कर्मचारी र एजेन्टहरू परिचालन गरिएको हुन्छ ।

जातीय सद्भावमा खलल पार्ने, हिंसा र घृणा फैलाउने खालका गतिविधिको सूचना सङ्कलन विभागको प्राथमिकतामा पर्छ । विखण्डनकारी र भूमिगत संगठनका गतिविधि तथा सीमा सुरक्षासम्बन्धी सूचनामा विभागका अधिकृतहरूले पहुँच राख्छन् ।

गुप्तचरले आन्दोलनबारे थप सूचना पनि सङ्कलन गरिरहेको छ । २०८४ मा हुने स्थानीय निर्वाचनअघि पुराना दलहरूले असन्तुष्टिलाई समेटेर सरकारविरोधी ‘हतियार’ बनाउन सक्ने पनि आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित