Logo
Logo
समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ९ गते १४:२५
५४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक एवं वाह्य पर्यटकका रोजाइमा पर्न थालेको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको यो कुण्ड पर्यटकका लागि विश्रामस्थल बनेको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग, बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने–आउने र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि भुरुङ्ग–तातोपानी आकर्षक गन्तव्य बनेको हो । यहाँको प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राको थकान मेटिने अनुभव पर्यटकले सुनाउने गरेका छन् ।

काठमाडौँका विमलेश शाक्यले तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम भएको अनुभव सुनाए । “यात्राको थकान र मुस्ताङको चिसो तातोपानीमा नुहाएपछि मेटियो,” उनले भने “थकित शरीरमा तातोपानीमा स्नान गरेपछि स्फूर्ति आयो ।”

तातोपानीमा स्नान गर्नेले शरीरको थकान कम भएको र दुखाइबाट राहत मिलेको अनुभव सुनाउँछन् । चिसो ठाउँबाट आएका पर्यटकले तातोपानीमा स्नान गरेपछि न्यानो महसुस गर्छन् ।

कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानी संकलन गरेर पोखरी र धारामा वितरण गरिएको छ । पर्यटकीय याम सुरु भएसँगै यहाँ स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

कुण्डका कर्मचारी प्रितम पुर्जाका अनुसार केही दिनयता पर्यटकको चहलपहल बढेसँगै स्नान गर्न आउनेको सङ्ख्या पनि बढेको छ । “हिजोआज दैनिक दुईदेखि ३०० जनाले स्नान गर्छन्,” उनले भने, “पर्यटक आगमन दैनिक रूपमा बढ्दो छ ।”

बेनी–जोमसोम सडकको छेउमा तातोपानी संकलन गरिएका दुई वटा पोखरी र धारा छन् । पर्यटकले आफूलाई उपयुक्त हुने ठाउँमा स्नान गर्न सक्छन् । कुण्डमा बिहान ६:०० देखि राति १०:०० बजेसम्म स्नान गर्न पाइन्छ । गाउँपालिकाले स्नान गर्न आउने नेपालीका लागि रु ५० र विदेशीका लागि रु १५० प्रवेश शुल्क तोकिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३–८४ मा भुरुङ्ग–तातोपानी कुण्ड सञ्चालनका लागि दुई महिनाको ठेक्का आह्वान गरेको छ । प्रवेश शुल्क संकलन र होटल सञ्चालन गर्ने गरी न्यूनतम रु नौ लाख ५० हजार मूल्य राखेर ठेक्का आह्वान गरिएको हो । प्रस्ताव पेस गर्ने म्याद सोमबारसम्म तोकिएको थियो ।

कुण्डमा पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले दुई महिनाका लागि मात्र ठेक्का आह्वान गरिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२–८३ मा करबाहेक रु ५० लाख एक हजारमा कुण्ड सञ्चालनको ठेक्का लागेको थियो । आर्थिक वर्ष २०८१–८२ मा रु ५६ लाख २५ हजार ३७७ र २०८०–८१ मा रु ५५ लाख ९०० मा ठेक्का लागेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार तातोपानी कुण्डबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा परिचालन हुँदै आएको छ । तातोपानीस्थित सर्वोदय माध्यमिक विद्यालय र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनमा सहयोग गरिएको छ । स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण तथा संरक्षणमा पनि रकम खर्च गरिँदै आएको अध्यक्ष पुनले बताए ।

कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणका काम हुँदै आएका छन् । भुरुङ्ग–तातोपानी कुण्ड नजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका–५ मा पाउद्वार तातोपानी कुण्ड रहेको छ । उक्त कुण्ड सञ्चालनका लागि यस वर्ष रु ५० लाख १० हजारमा ठेक्का सम्झौता भएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले भुरुङ्ग र पाउद्वारका तातोपानी कुण्डमा असर गरेको छैन । तर, गाउँपालिका–६ मा पर्ने रातोपानीस्थित तातोपानी कुण्ड भने बाढीले बगरमा परिणत गरेको छ । गाउँपालिका–१ मा रहेको सेकार्कु तातोपानी कुण्ड सञ्चालनका लागि भने यस वर्ष कुनै प्रस्ताव परेको छैन ।

भुरुङ्ग–तातोपानी बजारमा पर्यटकको आवास सुविधाका लागि करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । यहाँ एकै दिनमा ५०० भन्दा बढी पर्यटकलाई बास बसाउन सकिने क्षमता रहेको व्यवसायीले बताएका छन् ।

व्यवसायी राजु हमालका अनुसार केही दिनयता होटल भरिभराउ हुन थालेका छन् । यस वर्ष भुरुङ्ग–तातोपानीमा बास बस्ने पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किनेहरू रहेको उनले बताए ।

देशका विभिन्न ठाउँबाट आउने आन्तरिक पर्यटक भुरुङ्ग–तातोपानीमा बास बस्छन् । त्यसपछि जिप चढेर अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हुमखोलासम्म पुग्छन् र त्यहाँबाट पदयात्रा सुरु गर्छन् । भुरुङ्ग–तातोपानी कुण्ड मुस्ताङ यात्रा गर्ने, पदयात्रामा जाने र फर्किने पर्यटकका लागि विश्रामस्थलका साथै स्थानीय पर्यटन व्यवसायको आधार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित