Logo
Logo
समाचार

टीकाराम यात्री भन्छन्– इनम सापकोटासँग टाढाको पनि साइनो छैन

भाञ्जा नभए अरु कुनै नाता सम्बन्ध छ कि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘भोलि मेरो छोराले सापकोटासँग बिहे गर्यो भने कतैबाट नाता पर्न सक्ला । अहिले चाहीँ उहाँसित केही पनि सम्बन्ध छैन ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १७ गते ०१:५८
५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटा र चर्चित सञ्चारकर्मी टिकाराम यात्री (चौंलागाईं)बीच नजिकको नाता रहेको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ ।

यही नाताकै आधारमा यात्रीले आफ्नै युट्यूव च्यानलबाट इनमको महिलामण्डन गरिरहेको कतिपयले दाबी गरेका छन् ।

यो हल्ला फैलाउने प्रमुख पात्र अरु कोही नभएर पूर्वसचिव भीम उपाध्याय ‘मनमौजी’ हुन् । उनले मनमौजी तरिकाले कुनै स्रोत नखुलाइकन सामाजिक सञ्जालमा एक लाइनको स्टाटस लेखेका छन्– पत्रकार टिकाराम यात्रीकी आफ्नै साँईली दिदीको छोरो अर्थात आफ्नै भान्जा रहेछन् इनम सापकोटा ।

फेसबुकमा ४ लाख ७६ हजारभन्दा बढी फलोअर्स भएका उपाध्यायले यसरी पोस्ट गरेपछि भाइरल हुने भइहाल्यो । धेरैले यसकारण पनि यो दाबीलाई पत्याएका छन् कि यात्रीले अस्तिमात्रै आफ्नो कार्यक्रममा निकै सकारात्मक बिम्बहरु प्रयोग गर्दै इनम सापकोटाको चर्चा गरेका थिए ।

उनले इनमको व्यक्तित्व बयान गर्न ‘असाधरण’, ‘कुसाग्र’, ‘तिक्ष्ण’, ‘आकर्षक’ जस्ता थुप्रै गह्रूंगा शब्द खर्चेका छन् ।

इनमबारे यात्रीले गरेको बयान यस्तो थियोः
कालो चश्मामा ढल्किने, हेर्दाखेरी सोझो, सिधा र चिटिक्क परेको एउटा सिनेमाको नायक जस्तो उनी देखिन्छन् ।

उनले सुरुमा उच्च अधिकारीहरूसँगको पहुँच बनाउन आफूलाई भारतीय दूतावासको गोप्य कर्मचारी वा चिकित्सकको रूपमा परिचय गराए । हुन त चिकित्सक नै थिए तर त्यो पनि उनले छद्मभेषी परिचय गराएका थिए ।

त्रास र अवसरको सञ्जाल उनले सिर्जना गरेका थिए आफ्नो व्यक्तित्वको वरिपरि ।

न्यायपालिकाभित्र केही न्यायाधीशहरू विरुद्ध महाअभियोगको प्रस्ताव लैजाने चर्चा र मानसिक त्रासको वातावरण चलिरहेको बेलामा सापकोटाले सोही असुरक्षालाई आफ्नो शक्ति र हतियारको कडी बनाए ।

उच्च तहको नामको उनले दुरूपयोग गरेको त जगजाहेर भइसकेको छ । उनले आफू प्रधानमन्त्री बालेन्द्र शाहको मानिस भएको, सत्तारूढ दलका शीर्ष नेताहरूसँग सिधा सम्पर्कमा रहेको, छिमेकी देशको दूतावासमार्फत सबै सेटिङ मिलाउन सक्ने दाबी गर्दै न्यायाधीश तथा उच्च अधिकारीहरूलाई प्रभावित पारे ।

इनम सापकोटाको शैक्षिक उन्नयन र उपलब्धि असाधारण देखिन्छ । स्कुले पठनपाठन देखि नै कुशाग्र र तीक्ष्ण उनी ललितपुरको लिटल एन्जल्सबाट एसईई उत्तीर्ण गरेका हुन् । प्लस टु मा पनि मेधावी उनी एमबीबीएसमा राम्रो नतिजा ल्याएर एमबीबीएस उत्तीर्ण गरे । त्यतिमा मात्रै उनको चिकित्सकीय हुटहुटी टुङ्गिएन ।

त्यसपश्चात् उनले एमडी पश्चात् विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधिसमेत गरे । डाक्टर इनाम सापकोटा भए । तर त्यसले उनको परिचय, पहिचान र उनको प्राज्ञिक र चिकित्सकीय उन्नयनलाई तृप्ति होइन थप तृष्णा मात्रै जगाएछ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका पुत्रका बालसखा अथवा सहपाठी भएको सायद त्यो लाभ र त्यसको चस्का परेका कारणले पनि उनी आफ्नो प्राज्ञिक र चिकित्सकीय उन्नयनलाई बेवास्ता, अवमूल्यन गर्दै यहाँभित्रको आन्तरिक झिनाझपटीमा रुमल्लिएका पनि हुन सक्छन् ।

जानकारहरू भन्छन्, उनले जुन विधा, जुन विश्वविद्यालय र जुन क्षेत्रमा विद्यावारिधि गरेका छन्, अमेरिका मात्रै होइन विश्वका जुनसुकै कुनामा उनले मासिक रूपमा २५–३० हजार डलर प्राप्त गर्न सक्छन् । त्यो भनेको नेपालको उनी ४०–५० लाख रुपैयाँ प्रतिमहिना आम्दानी गर्न सकिने उनको शैक्षिक उन्नयन छ । उनको त्यो प्राप्त गरेको व्यक्तित्व पनि त्यो हो । तर उनले आफूलाई कसरी रूपान्तरण गराए, राष्ट्रिय खलनायकका रूपमा ।’

यात्रीको यो भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल छ । उनले यहाँ उल्लेख गरेका सूचनाहरुको सत्यतामा थुप्रैले प्रश्न उठाएका छन् । हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेको तथ्य झूटो रहेको आलोचकहरुको दाबी छ । र, उपाध्यायको पोस्टपछि यात्रीले आफ्नो नजिकका नातेदार भएकै कारण इनमको झूटो प्रशंसा गरेको धेरैले ठानेका छन् ।

तार्किक र बौद्धिक छविका पत्रकार यात्री भीम उपाध्यायजस्तो हावादारी सूचना फैलाउने पात्र अवश्य होइनन् । उनले विश्वसनीय स्रोतबाट सूचना नपाइकन यत्तिकै प्रवचन दिए होलान् भनेर पत्याउन मुस्किल पर्छ । तर, सामाजिक सञ्जालमा प्रश्न उठेपछि जवाफ त दिनै पर्यो ।

हामीले उनलाई नै सोध्यौं– के इनम सापकोटा तपाईंका नजिकका नातेदार (भाञ्जा) हुन् ?

यात्रीले सिधै इन्कार गरे । उनले आफ्नो ‘भाञ्जा’ नाता पर्ने व्यक्ति नै कोही नभएको बताए ।

‘मेरो जानकारीबिना बुवाआमाले दिदी जन्माउनुभएको भए बेग्लै कुरा । मेरो कुनै दिदी हुनुहुन्न । एउटा भाइ र एउटा बहिनी छन् ।’

यात्रीका अनुसार उनका फुपुहरु पनि कोही सापकोटा थरका छैनन् ।

भाञ्जा नभए अरु कुनै नाता सम्बन्ध छ कि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘भोलि मेरो छोराले सापकोटासँग बिहे गर्यो भने कतैबाट नाता पर्न सक्ला । अहिले चाहीँ उहाँसित केही पनि सम्बन्ध छैन ।’

हार्वर्डबाट विद्यावारिधि गरेको लगायत आफूले सम्प्रेषण गरेको सबै सूचनाहरुमा विश्वस्त रहेको यात्री बताउँछन् ।

‘म सबै कुरा म भरे भोलि प्रष्ट्याउँछु । अहिले ट्रोल गर्नेहरुलाई गर्न दिउँ’ उनले भने ।

इनम सापकोटा यात्रीको दिदीको छोरा भएको दाबी गर्ने भीम उपाध्यायलाई हामीले यस विषयमा सोध्न खोज्दा उनले फोन उठाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित