‘टाइम-१०० क्लाइमेट’मा अर्थमन्त्री वाग्ले समेटिएकोमा रास्वपाको बधाई, जलवायु न्यायमा गरेको पैरवीको प्रशंसा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समेटिएकोमा बधाई दिएको छ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समेटिएकोमा बधाई दिएको छ।
पार्टीको केन्द्रीय कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै जलवायु न्याय, जलवायु वित्त परिचालन र अन्तर्राष्ट्रिय सहायता व्यवस्थापनका क्षेत्रमा वाग्लेले गरेको पहलको प्रशंसा गरेको हो।
रास्वपाका अनुसार विगत २८ वर्षदेखि दिगो आर्थिक विकासका क्षेत्रमा अनुसन्धानकर्ता, नीति निर्माता तथा राजनीतिकर्मीका रूपमा सक्रिय वाग्लेले जलवायु परिवर्तनबाट नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेका समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका छन्।
विशेष गरी रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलवायुजन्य क्षतिको क्षतिपूर्ति, प्रभावित समुदायका लागि स्रोत परिचालन र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधारको आवश्यकताबारे वाग्लेले गरेको पैरवीलाई पार्टीले महत्त्वपूर्ण मानेको छ।
विज्ञप्तिमा जलवायु संकटबाट प्रभावित मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने पहल तथा विश्व समुदायको ध्यानाकर्षण गराउन वाग्लेले निर्वाह गरेको भूमिकालाई उनको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको छ।पार्टीले जलवायु परिवर्तनका कारण सिर्जित क्षति सम्बोधन गर्न प्रमाणमा आधारित वकालत आवश्यक रहेको उल्लेख गर्दै नेपालले अन्तर्राष्ट्रिय जलवायु वित्तमा न्यायोचित पहुँच पाउनुपर्ने विषयमा वाग्लेले निरन्तर आवाज उठाएको जनाएको छ।
रास्वपाले जलवायु परिवर्तनको प्रभाव सबै मुलुकमा समान रूपमा नपरेको भन्दै हिमाली तथा पर्वतीय देशहरूको जोखिमलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायुजन्य विपद्, हिमताल विस्फोट, बाढीपहिरो तथा त्यसबाट सिर्जित आर्थिक र सामाजिक क्षतिको भार नेपालले बेहोर्नुपरेको विज्ञप्तिमा उल्लेख छ।
यसै सन्दर्भमा जलवायु न्याय, क्षति तथा नोक्सानीको न्यायोचित सम्बोधन र अन्तर्राष्ट्रिय सहायता व्यवस्थापनमा वाग्लेले अघि सारेका विषयले नेपालको अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउन सहयोग पुगेको पार्टीको निष्कर्ष छ।
टाइमले सोमबार सार्वजनिक गरेको ‘टाइम-१०० क्लाइमेट २०२६’ सूचीमा वाग्लेलाई समावेश गरेको विषय विभिन्न सञ्चारमाध्यमले पनि पुष्टि गरेका छन्। सूचीमा उनको नाम समेटिनुको प्रमुख आधारमा नेपालको जलवायु जोखिम, जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पैरवी तथा वित्तीय स्रोत परिचालनसम्बन्धी प्रयासलाई उल्लेख गरिएको छ।
जलवायु परिवर्तनका कारण जोखिममा परेका मुलुकले व्यहोर्नुपरेको क्षति सम्बोधन गर्न स्थापित अन्तर्राष्ट्रिय ‘लस एन्ड ड्यामेज फन्ड’बाट स्रोत परिचालन गर्ने विषय पनि नेपालको जलवायु कूटनीतिक प्राथमिकतामा पर्दै आएको छ।
रास्वपाले वाग्लेको अन्तर्राष्ट्रिय पहिचानलाई व्यक्तिगत उपलब्धिसँगै जलवायु संकटबाट प्रभावित नेपालको आवाज विश्वमञ्चमा पुर्याउने प्रयासका रूपमा व्याख्या गरेको छ।
यद्यपि, अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यस्तो पहिचानलाई नेपालले जलवायु वित्तमा वास्तविक पहुँच, विपद्पछिको पुनर्निर्माण, जोखिम न्यूनीकरण र प्रभावित नागरिकसम्म सहायता पुर्याउने ठोस उपलब्धिमा रूपान्तरण गर्नु आगामी चुनौतीका रूपमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




