स्वास्थ्यकर्मीमाथि हातपातप्रति ४ पेसागत संगठनको विरोध, सत्यतथ्य छानबिन गर्न माग
नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल जनस्वास्थ्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको निष्पक्ष र सत्यतथ्य छानबिनको पनि माग गरेका छन् ।

काठमाडौ । बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार तथा हातपातको घटनाप्रति स्वास्थ्य क्षेत्रका चार प्रमुख पेसागत संघ–संगठनहरूले आपत्ति जनाएका छन् ।
नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल जनस्वास्थ्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको निष्पक्ष र सत्यतथ्य छानबिनको पनि माग गरेका छन् ।
पोलिक्लिनिकमा असोज १७ अपरान्हको घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको उल्लेख गर्दै ती संगठनहरूले एकपक्षीय आरोपका आधारमा कार्यक्षेत्रमै प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि गालीगलौज तथा हातपात गरिनु कानुनी राज्यको उपहास भएको जिकिर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सो घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषी ठहर भएमा कानुन बमोजिम कारबाही हुने कुरामा हाम्रो विमति छैन तर कसैले एकपक्षीय आरोप लगाएको भरमा कार्यक्षेत्रमा प्रवेश गरी गाली बेइज्जती गर्नु, हातपात गर्नु, आफैँ दोषी करार गर्नु पनि कानुनी राजको उपहास हो । यसले स्वास्थ्य क्षेत्रमा कार्यरत आम स्वास्थ्यकर्मीहरूको मनोबल गिर्न गई स्वास्थ्य सेवामा समस्या पर्न सक्छ ।’
संघ–संगठनहरूले घटनाको यथार्थ छानबिन गरेर दोषी प्रमाणित भएमा मात्र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
संयुक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. चन्द्रकला शर्मा, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष अधिवक्ता वसन्तकुमार श्रेष्ठ र नेपाल जनस्वास्थ्य संघका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलालले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




