स्वास्थ्य प्रणाली सुधार्न एसटीपीलाई स्वास्थ्य बीमासँग जोड्ने तयारी

देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगको उपचारलाई व्यवस्थित र एकरूपता ल्याउन अहिलेसम्म जारी भएका मानक उपचार प्रोटोकल (एसटीपी)लाई स्वास्थ्य बीमासँग जोडेर कसरी प्रभावकारी ढंगले लागू गर्ने भन्ने विषयमा छलफल भयो ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा. पवनजंग रायमाझीसहित विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत १८ क्षेत्रका विशेषज्ञ चिकित्सकहरू सहभागी थिए ।
उनीहरूले आ–आफ्नो क्षेत्रमा प्रयोग भइरहेको प्रोटोकलका सहज तथा कठिन पक्षबारे छलफल गर्दै सुधारका लागि सुझाव दिए । साथै, फरक–फरक विभाग तथा महाशाखाले प्रोटोकल बनाउँदा समन्वयको अभाव देखिएको भन्दै त्यसलाई समाधान गर्नुपर्नेमा पनि उनीहरूले जोड दिए ।
डा. रायमाझीका अनुसार आवश्यकता हेरी हालसम्म १९ वटा प्रोटोकल बनाइएका छन् । तीमध्ये केही मात्र स्वीकृत भएर लागू भइसकेका छन् भने कतिपय प्रक्रियामै रहेका छन् । लागू भइसकेका प्रोटोकलमा पनि एकरूपता कायम गर्न समयानुकूल परिमार्जन आवश्यक रहेको उनले बताए ।
यस्तै, बिरामी परीक्षणका क्रममा चिकित्सकले अनुमानका आधारमा सीटी स्क्यान, एमआरआईलगायत परीक्षणका लागि अनावश्यक प्रिस्क्रिप्सन दिने प्रवृत्तिले स्वास्थ्य बीमा कार्यक्रममा आर्थिक भार थपिने भएकाले आवश्यकताका आधारमा मात्र परीक्षण गर्ने गरी निश्चित प्रोटोकल बनाउन आवश्यक रहेको उनले बताए । त्यसका लागि पनि शुक्रबारको छलफल प्रभावकारी हुने उनको भनाइ छ ।
प्रोटोकलको परिमार्जनसँगै यसको प्रभावकारी प्रयोगले अनावश्यक परीक्षण र महँगा औषधिको प्रयोग कटौती हुने भएकाले बिरामीको उपचार खर्च घट्ने विश्वास गरिएको छ । यसबाट सरकारी कोषको दुरुपयोग रोक्नुका साथै सरकारी स्वास्थ्य बीमा कार्यक्रमलाई समेत व्यवस्थित बनाउन सहज हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




