सुनसरीमा लागूऔषधसहित मोटरसाइकल बरामद, बरामद सामग्री खोस्ने प्रयास

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोकबाट प्रतिबन्धित लागूऔषधसहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। लागूऔषध जाँचका क्रममा स्थानीयको समूहले बरामद सामग्री खोस्ने तथा नष्ट गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पुरानो स्टार होटल नजिक पार्किङ गरी राखिएको प्रदेश १–०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल फेला पारेको थियो।
मोटरसाइकल जाँच गर्ने क्रममा नेपाल प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेको थियो। सोही क्रममा करिब ५० देखि ५५ जनाको समूह भेला भई सुरक्षाकर्मीको काममा अवरोध पुर्याएको तथा बरामद सामग्री खोस्ने र नष्ट गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
जाँचका क्रममा नाइट्राजेपाम ९९ थान, ट्रामाडोल १६० थान र स्पास्मो ३२ थान गरी कुल २९१ थान लागूऔषधका ट्याब्लेट फेला परेका थिए।
सशस्त्र प्रहरीका अनुसार बरामद मोटरसाइकल र लागूऔषधलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।
घटनामा सुरक्षाकर्मीको काममा अवरोध पुर्याउने व्यक्तिहरूमाथि समेत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




