शुक्रबारबाट प्रदर्शनमा आए चार चलचित्र

काठमाडौं: रसुवामा आएको बाढीका कारण केही समय सुस्ताएको चलचित्र क्षेत्रमा यस साता चहलपहल बढेको छ। शुक्रबारदेखि दुई नेपाली र दुई विदेशी गरी चार नयाँ चलचित्र प्रदर्शनमा आएका छन्।
नेपाली चलचित्रतर्फ माओत्से गुरुङ निर्देशित 'पेन्सन पट्टा' प्रदर्शनमा आएको छ। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङको मुख्य भूमिका छ। चलचित्रले लाहुरे श्रीमानको निधनपछि पेन्सन प्राप्त गर्न श्रीमतीले गर्नुपर्ने संघर्षको कथा समेटेको छ। त्यस्तै, सशान कँडेल 'सन्तोष' निर्देशित अर्को नेपाली चलचित्र 'बेहुली' पनि शुक्रबारबाटै प्रदर्शनमा छ। ड्रामा विधाको यस चलचित्रमा पारस बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन्।
अन्तर्राष्ट्रियतर्फ हलिउड चलचित्र 'फल २: डेड प्वाइन्ट' प्रदर्शनमा आएको छ। माइकल स्पिरिङ र पिटर स्पिरिङ निर्देशित ९८ मिनेट लामो यो चलचित्र थाइल्यान्डको जोखिमपूर्ण माउन्ट क्वान आरोहणमा आधारित छ। चलचित्रमा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ। आरोहणका क्रममा पहिरो जाँदा चार हजार फिट उचाइको साँघुरो फल्याकमा फसेका पात्रहरूको जीवन रक्षाको संघर्ष यसको मुख्य कथा हो।
त्यसैगरी, बलिउड चलचित्र 'हनुमान अंश' पनि शुक्रबारबाटै हलमा लागेको छ। विशाल चतुर्वेदी निर्देशित १५० मिनेट लामो यो चलचित्रले दिवङ्गत आमाको खोजीमा निस्किएका एक बालकको आध्यात्मिक यात्रालाई प्रस्तुत गरेको छ। सोभिनव सत्या, चन्दन आनन्द र पूर्णिमा तिवारीको मुख्य अभिनय रहेको यो चलचित्रले मानवताको सेवा नै जीवनको महत्वपूर्ण उद्देश्य भएको सन्देश दिन्छ। यस चलचित्रलाई पिजी रेटिङ दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




