शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यसँग बुधबार भएको भर्चुअल सम्बोधनमा उनले आन्तरिक एकता थप सुदृढ बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले पार्टीभित्र एकअर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताए । “शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ । सानातिना असमझदारी छाडेर साझा सङ्कल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ,” उनले भने ।
उनले एमालेभित्र कुनै समस्या नरहेको दाबी गर्नुभन्दा सङ्गठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र सङ्गठनका हिसाबले एकढिक्का रहेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन परिचालन गर्न कार्यकर्तालाई आग्रह गरे ।
एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरणसमेत प्रस्तुत गरे । “हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,” उनले भने ।
अध्यक्ष ओलीले पार्टी विरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सूचना प्रविधिको माध्यमबाट हुने राजनीतिक प्रचारमा पार्टीले पनि प्रभावकारी उपस्थिति देखाउनुपर्ने बताए । पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढङ्गले पुर्याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । उनले कार्यकर्तालाई आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर सङ्गठन निर्माण, जनसम्बन्ध विस्तार र अनुशासनमा ध्यान दिन निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




