Logo
Logo
समाचार

शंकर-विष्णुलाई सँगै राखेर ओलीले भने : अध्यक्ष हटाउने अपराधपूर्ण खेललाई अब क्षमा हुँदैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ वटा कामको कार्यान्वयनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा बाँधिन निर्देशन दिएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १३ गते २०:५९
७९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ वटा कामको कार्यान्वयनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा बाँधिन निर्देशन दिएका छन् ।

हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले पार्टीभित्रको सन्देह अन्त्य गरेको उल्लेख गर्दै ओलीले भने, ‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटी बैठकलाई हामीले ‘कट-अफ डेट’ मानेका छौँ । अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी खुसी हुने गरी अभिव्यक्ति दिने जोकोहीमाथि कडा कारबाही हुन्छ ।’

मंगलबार कोशी, मधेश, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘लोकतन्त्रको पुनर्बहाली’ र ‘आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी’ नै पार्टीको मुख्य गन्तव्य भएको प्रष्ट्याए ।

‘दुई कार्यभारमध्ये कुन समयमा कुनमा केन्द्रित हुने भन्ने निर्णय पार्टीले निर्धारण गर्छ । हामी निर्वाचनमा केन्द्रित हुन्छौँ र जित्छौँ,’ उनले भने, ‘जनसंगठनहरू निष्प्रभावीजस्तै भएका छन्, अब ती पुनर्गठित हुन्छन् । पुनर्गठनको नाममा अध्यक्ष हटाउने खेल अपराधपूर्ण थियो । केन्द्रीय कमिटीअघिका यी सबै कुरा क्षमा भयो, तर अब क्षमा हुँदैन । अहिले प्रतिनिधि परिषद् बैठकतिर अल्झिने बेला होइन, चुनावको तयारीमा लाग्ने बेला हो ।’

नेता-कार्यकर्तालाई अर्जुन दृष्टिजस्तै एउटै लक्ष्यमा केन्द्रित हुन र ब्रुस लीको जस्तो एकाग्रताका साथ सम्पूर्ण तागत संगठन निर्माणमा लगाउन ओलीले निर्देशन दिएका छन् । देशलाई जबर्जस्ती पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंस र आतंक मच्याउने प्रयास भइरहेको भन्दै उनले यसलाई रोक्न सिंगो पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय सम्पत्ति, सिंहदरबार लगायतका ऐतिहासिक संरचना र नागरिकका निजी घरमा भएका आगजनी तथा आतंक मच्चाइएको भन्दै उनले गैरसंवैधानिक कदमका कारण देश संकटमा परेको दाबी गरे । एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा ल्याउन नेतृत्व लिने उनको जिकिर छ ।

विगतको निर्वाचनमा पार्टीले भोगेको क्षति बाह्य घेराबन्दी, योजनाबद्ध विध्वंस र आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै ओलीले अब सामूहिक स्वार्थलाई अघि बढाउनुपर्ने बताए । विरोधीहरूले फैलाएका भ्रम चिर्न पार्टीले चाँडै सशक्त ‘डिजिटल क्याम्पेन’ सञ्चालन गर्ने उनले बताएका छन् ।

अन्य दलसँग पार्टी एकताको चर्चा समयको बर्बादी मात्र हुने उनको प्रष्टोक्ति थियो । ओलीले भने, ‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ, तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन ।’

नेताहरूलाई राजधानी वा सुविधाभोगी ठाउँमा बसेर ‘टुरिस्ट’ जस्तो नघुम्न र कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन उनको निर्देशन छ ।

‘अब नेता-कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ। आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट खाका एमालेसँग मात्रै भएकाले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्’, ओलीले भने ।

पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सञ्चालित कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल, सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल, डा. राजन भट्टराईलगायतका नेताहरूको उपस्थिति थियो ।

कार्यक्रमको सहजीकरण महासचिव पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित