Logo
Logo
समाचार

सीप मेलामा ‘जस’ लिने होड : प्रधानमन्त्रीको भिजन भएको मन्त्रीको दाबी, सभामुखले लिए आफ्नै जस

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १४ गते २२:५८
१२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

विराटनगर। इटहरीमा आजदेखि सुरु भएको सात दिने ‘सीप तथा रोजगार मेला–२०८३’ को उद्घाटन मञ्चमा सीप र रोजगारीको यो अभियानको वास्तविक ‘क्रेडिट’ कसले लिने भन्ने विषयमै प्रतिस्पर्धा देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले यसलाई प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह काठमाडौँको मेयर हुँदा सुरु गरेको कामको निरन्तरता भएकाे बताएका छन् भने प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू श्रम मन्त्री हुँदा सुरु गरेको ‘श्रमधान’ अभियानको संस्थागत रूप भएको दाबी गरेका छन् ।

मेलाको उद्घाटन समारोहमा मन्त्री रामजी यादवले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको भिजनलाई सरकारले देशव्यापी बनाउन लागेको स्पष्ट पारे । ‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा काठमाडौँबाट सुरु गर्नुभएको यो अभियानलाई हामी देशव्यापी बनाउँदै छौँ,’ मन्त्री यादवले भने, ‘मेयर हुँदा उहाँले सीप र अवसरलाई जोड्न जुन जग बसाल्नुभयो, त्यसैलाई आधार मानेर हामी अहिले सातै प्रदेशमा युवाहरूलाई सीपसँग जोड्न लागेका हौँ ।’

कार्यक्रमका प्रमुख अतिथि एवं सभामुख डोलप्रसाद अर्यालले भने यो अभियानको सुरुवातकर्ता आफू नै भएको स्मरण गरे । आफू श्रम मन्त्री हुँदा सुरु गरेको ‘श्रमधान’ अभियानको स्मरण गर्दै उनले आफैँ जस लिन खोजे । ‘मैले मन्त्रालयको नेतृत्व सम्हाल्दा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले २०८१ जेठ १७ गते यही कोशी प्रदेशबाट सुरु गरेको उक्त मेला देशका सातै प्रदेशमा सफलतापूर्वक सम्पन्न भएको थियो,’ उनले भने, ‘मेरो तत्कालीन सोचले आज एउटा संस्थागत स्वरूप लिएको देख्दा अत्यन्तै खुसी लागेको छ ।’ सभामुख अर्यालले मेला केवल रोजगारी खोज्ने ठाउँ मात्र नभई सीप र अवसर जोड्ने पुल हुनुपर्नेमा जोड दिए ।

मञ्चमा केन्द्रका मन्त्री र सभामुखबिच जस लिने होड चलिरहँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने प्रदेश सरकारको आफ्नै योजना अघि सारे । उनले प्रदेशका ३–४ हजार कर्मचारीको पोसाकमा स्वदेशी उत्पादन अनिवार्य गरिएको सुनाए । ‘हामीले कर्मचारीको पोसाक भत्ता बढाएर १५ हजार ५०० पुर्‍याएका छौँ, तर एउटा अनिवार्य सर्त राखेका छौँ– अब पोसाक बनाउँदा कोशी प्रदेशमै उत्पादित अल्लो, खाडी वा ढाकाको कपडा प्रयोग गर्नुपर्नेछ,’ उनले भने । मुख्यमन्त्री कार्कीले सरकारको यो निर्णयले प्रदेशका करिब २ सय घरेलु उद्योगले सिधै काम पाउने दाबी गरे ।

असोज १४ गते बिहान ९ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा थारु सांस्कृतिक नृत्य र नौमती बाजा घन्काइएको थियो । मेलामा आजै दिउँसो २ बजेदेखि ‘आजको युवा, भोलिको उद्यमी’ विषयमा सार्क संवाद गरियो ।

मेला आगामी असोज २० गतेसम्म चल्नेछ । असोज १५ देखि १९ गतेसम्म विभिन्न १० वटा ट्रेडमा ५ दिने सीपमूलक तालिमहरू सञ्चालन हुने र असोज २० गते प्रमाणपत्र वितरणका साथै समापन समारोह हुने कार्यक्रम रहेको छ । मेला अवधिभर रोजगार लिन चाहने युवाहरूको सीप प्रोफाइलिङ, रोजगारदातासँगको नेटवर्किङ र करियर काउन्सिलिङका स्टलहरू समेत सञ्चालनमा रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित