Logo
Logo
समाचार

सरकारलाई वर्षमानको चेतावनी- सधैँ सत्तामा टिक्छु नसोच्नू, पूर्वप्रधानमन्त्रीका तस्बिर हेरेर सत्य स्वीकार्नू

उनले भने, ‘सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस् । अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरुका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २६ गते २०:२०
२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपाका सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन चेतावनी दिएका छन् ।  प्रतिनिधि सभाको बैठकमा बोल्दै लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहने बताए ।

उनले भने, ‘सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस् । अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरुका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।’

उनले जेनजी आन्दोलनलाई केवल एउटा घटनाका रूपमा समाप्त गर्ने प्रयास गर्न नगर्न चेतावनी दिए। उनले भने, ‘यदि राज्यले युवाको प्रश्न सुनेन भने असन्तुष्टि फेरि अर्को रूपमा प्रकट हुन सक्छ । जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त भएको असन्तुष्टिले त्यसको स्पष्ट संकेत गरेको छ ।’

उनको भनाइ जस्ताको तस्तै,
गत वर्ष भदौ २३ र २४ गतेका घटनातर्फ आउन चाहन्छु । जेन–जी पुस्ताले उठाएका प्रश्नलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । युवाहरू किन सडकमा आए ? उनीहरूमा राज्यप्रति असन्तुष्टि किन बढ्यो ? राजनीतिक नेतृत्वप्रति अविश्वास किन पैदा भयो ? यी प्रश्नहरुको हल अझै भएको छैन । जेनजी आन्दोलनबारे हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ । हामीले २३ र २४ भदौलाई अलगअलग कोणबाट हेर्दै आएका छौं ।

२३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, सुशासन, छिटोछरितो र भेदभावरहित सार्वजनिक सेवा प्रवाहको माग राखेर युवाहरुले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । उनीहरुको आन्दोलनलाई कसले हाइज्याक गरेर माइतीघरबाट बानेश्वर पुर्‍यायो ? कसरी १९ जनाको घटनास्थलमै ज्यान जाने गरी गोली चलाइयो ? कसको आदेशमा गोली चल्यो र भदौ २४ मा सार्वजनिक धरोहर र निजी सम्पत्तिमा आगजनी, लुटपाट गर्ने काम भयो ।

सम्माननीय राष्ट्रपतिको कार्यालय, सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत, प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान, प्रहरी कार्यालय, प्रदेश र स्थानीय तहका कार्यालय, राजनीतिक दलका कार्यालय र नेताहरुका निवासमा आगजनी र विश्वंश गर्ने काम भयो त्यो अक्षम्य अपराध हो । त्यसमा संलग्नहरुमाथि कुनै पनि बहानामा उन्मुक्ति हुनुहुँदैन ।

ढिलोछिटो उनीहरु कानूनको दायरामा आउनैपर्छ । त्यसै गरी निहत्था कलिला बालबालिकाहरुको जसरी निर्ममतापूर्वक हत्या भयो, त्यसमा संलग्नहरुमाथि पनि कारबाही हुनुपर्छ । यस सम्बन्धमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानवअधिकार आयोगले छुट्टाछुट्टै प्रतिवेदन सरकारलाई बुझाएका छन् । म आग्रह गर्न चाहन्छु सरकारले ती दुवै प्रतिवेदन सार्वजनिक गरोस् र सिफारिस कार्यान्यवन गरियोस् ।

भदौ २३ र २४ का घटनामा मुख्य प्रश्न यो हो—दोषी को हो ? देश जलाउनेहरुमाथि उपलब्ध प्रमाणका आधारमा कारबाही गरियोस् । आगजनी, लुटपाट र सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरुलाई उन्मुक्ति नहोस् । तर, राजनीतिक आस्था, कुनै दल वा समूहसँगको आवद्धता वा सामाजिक पहिचानका आधारमा बलजफ्ती कसैलाई अपराधी करार गर्ने काम नहोस् भन्नेमा पनि सचेत गराउन चाहन्छु ।

म सरकारमा भएका साथीहरुलाई स्पष्ट रूपमा भन्न चाहन्छु—दोषीलाई नछोड्नुहोस्, तर निर्दोषलाई पनि नफसाउनुहोस् । यो नै कानुनको शासन हो ।

गत भदौ २३ र २४ को घटनामा राज्यका संयन्त्र कहाँ थिए ? विश्वंशको सूचना थियो कि थिएन ? सूचना पाएको भए सुरक्षा तयारी किन प्रभावकारी र पर्याप्त भएन ? स्थिति बिग्रँदै गएको थाहा हुँदाहुँदै नियन्त्रण किन प्रभावकारी हुन सकेन ? सार्वजनिक संरचनाको सुरक्षा किन हुन सकेन ? नागरिक संस्था र निजी सम्पत्ति जोगाउन के कस्ता प्रयास भए ? यी सबै प्रश्नको जवाफ चाहिन्छ ।

जेनजी आन्दोलनलाई केवल एउटा घटनाका रूपमा समाप्त गर्ने प्रयास गर्नु ठूलो भूल हुनेछ । अहिले पनि युवाहरूले रोजगारी खोजिरहेका छन्, उनीहरू अवसर खोजिरहेका छन् । उनीहरू पारदर्शिता खोजिरहेका छन् । उनीहरू जवाफदेहिता खोजिरहेका छन् । उनीहरू आफ्नो भविष्य सुरक्षित भएको देख्न चाहन्छन् ।

यदि राज्यले युवाको प्रश्न सुनेन भने असन्तुष्टि फेरि अर्को रूपमा प्रकट हुन सक्छ । जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यक्त भएको असन्तुष्टिले त्यसको स्पष्ट संकेत गरेको छ । जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा सरकार पक्षधरबाट जेनजी घाइतेमाथि भएको कुटपिट, दुव्र्यवहार निन्दनीय छ । प्रश्नैप्रश्न गरेर आउनुभएका साथीहरु सरकारमा हुनुहुन्छ । तपाईंहरु अरुका प्रश्न सुनेर जवाफ दिने ठाउँमा हुनुहुन्छ । नागरिकका मुख थुन्ने, निरंकुश र स्वेच्छाचारी र गैरजिम्मेवार बन्ने छुट तपाईंहरुलाई छैन ।

त्यसैले सरकारसँग मेरो आग्रह छ, युवालाई अपराधीको आँखाले मात्र नहेर्नुहोस् । उनीहरूको आवाज, प्रश्न, माग र असन्तुष्टि सुन्नुहोस् । राज्य र नागरिकबीच विश्वास कमजोर हुँदा मुलुकले के कस्ता दुर्भाग्यपूर्ण परिघटनाको सामना गर्नुपर्छ भन्नेबारे हामी सबै जानकार नै छौं । त्यसैले म भन्न चाहन्छु, देशले अब अर्को विद्रोह र विध्वंश थेग्न सक्दैन ।

लोकतन्त्र भनेको नागरिकको जीवनको सुरक्षा, प्रश्न गर्ने ग्यारेण्टी, जनाअधिकारको संरक्षण, कानुनको शासन र सरकारको जवाफदेहीता हो । करिब दुई तिहाइको वर्तमान सरकार यी विषयमा क्रमशः चुक्दै गएको छ । धान रोप्ने समयमा किसानले मल पाएनन्, अहिले खाना पकाउने ग्यासको चरम अभाव छ ।

नागरिकहरु रातदिन पानीमा रुझेर ग्यासको लाइनमा बसेको दृष्य ‘अब नो लाइन ओनली अनलाइन’ को नारा दिएर आएको सरकारकारले देख्नुपर्दैन ? सभामुख महोदय । बजारमा महंगीले आकाश छोएको छ । दैनिक उपभोग्य बस्तुको मूल्यले कीर्तिमान कायम गर्दा पनि सरकार नदेखे झैं गरिरहेको छ । बजार अनुगमन छैन, कृत्रिम अभाव श्रृजना गर्ने र कालोबजारी गर्नेमाथि कारबाही छैन । अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् ।

धितोपत्र बजारले दुई तिहाइको सरकारलाई किन पत्याएको छैन ? निजी क्षेत्रको मनोबल थप गिर्दै गएको छ । सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्र माथि उठाउन असम्भव छ । तर, सरकारका जिम्मेवार मन्त्रीको दैनिकी निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ । कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ, कोही थुन्ने भन्नुहुन्छ, कोही पाता कस्ने भन्नुहुन्छ । यस्तो त्रासपूर्ण वातावरणमा निजी क्षेत्रले कसरी मन फुकाएर लगानी गर्न सक्छ ?

पूर्वअर्थमन्त्रीको हैसियतमा म निजी क्षेत्रलाई तसार्उने काम बन्द गरेर सहकार्यको हात बढाउन सरकारलाई आग्रह गर्न चाहन्छु । सरकारको स्वेच्छारिता र नालायकीले सीमा नाघेको छ । सप्तरीमा पैसा नभएको भन्दै संघीय सरकार मातहतको अस्पतालले प्रवेश बेदनामा रहेकी महिलाको उपचार नगर्दा सडकपेटीमै शिशु जन्मिएको घटनाले सरकारको नियत र क्षमता छर्लंङ्ग भएको छ । म सत्तापक्षका साथीहरुलाई सोध्न चाहन्छु यदि तपाईंहरु अहिले प्रतिपक्षमा र अरु सत्तापक्षमा भएको भए तपाईंहरुले यो घटनालाई कुन रुपमा व्याख्या गर्नुहुन्थ्यो होला ?

चुनावी भाषणका बेला भोट मााग्न जाँदा प्रधामनन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुनेले निःशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछ भन्नुभएको भिडियो क्लिप सामाजिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला । तर, सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भयो ।

प्रशव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब मधेसी महिलाले पैसाको अभावमा सडक पेटीमै शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आममानिसले प्रश्न गरिरहेको जानकारी छ कि छैन ? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न टाढा जानुपर्दैैन ।

यही सम्मानित सदनमा सत्तापक्षकै माननीयज्यूहरुले दिनुभएको अभिव्यक्ति काफी छ । सरकार सच्चियोस, दम्भी र अहंकारी शैलीमा सुधार गरोस् । बिनम्र हुनुस् । सबैको अस्तित्व स्वीकार गर्नुस् । डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुस् । लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहन्छ । सधैंका लागि सत्तामा आएको भ्रममा नपर्नुस् । अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरुका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित