सम्पदा जोड्दै तीन दिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न: विश्वसामु हाम्रा कथा प्रस्तुत गर्ने प्रतिबद्धता
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता पूरा गरेको बताएकी छन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता पूरा गरेको बताएकी छन् । ,
काठमाडौँ फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उनले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिबद्धता गरेको र सन् २०२६ मै त्यसलाई पूरा गर्न सफल भएको बताएकी हुन् । उनले तीन दिने फेस्टिभलले विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको उल्लेख गरिन् ।
वसन्तपुरबाट शुरु भएको फेस्टिभल बौद्धनाथमा समापन गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । फेस्टिभलको पहिलो दिन वर्षाका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भएपनि कलाकार, स्वयंसेवक, महानगरपालिका परिवार र नगर प्रहरीको सहयोगले कार्यक्रम सफल भएको उनले बताइन् । विशेषगरी वर्षाका बीच पनि फिल्म हेर्न उत्साहित वरिष्ठ कलाकारहरूप्रति उनले आभार व्यक्त गरिन् । फेस्टिभल सफल बनाउन सहयोग गर्ने फिल्म विकास बोर्ड, एलायन्स फ्रान्सेज, अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अन्य साझेदार संस्थालाई पनि उनले धन्यवाद दिइन् ।
त्यस्तै, फेस्टिभलका निर्देशक तथा आयोजक टोलीले गरेको मेहनतको प्रशंसा गर्दै उनले राति १० बजे शुरु हुने बैठक बिहान २ देखि ३ बजेसम्म चल्ने गरेको अनुभव सुनाइन्। नेपाली चलचित्र र कथालाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउनु फेस्टिभलको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै डंगोलले नेपालले विश्वका कथा हेर्ने र सुन्ने मात्र नभई विश्वले पनि नेपाली कथा हेर्ने र सुन्ने वातावरण बनाउनुपर्ने बताइन् ।
डंगोलले भनिन्, ‘नेपालले विश्वका कथाहरू हेर्ने, सुन्ने मात्र होइन, विश्वले पनि हाम्रा कथाहरू देख्न र सुन्न पाउनुपर्छ । वरिष्ठ कलाकारहरूलाई खाना खान जाने वा विश्राम गर्ने हो भनेर सोध्दा पनि उहाँहरूले होइन, हामी अझै फिल्म हेर्न चाहन्छौँ भन्नुभयो । यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीले विश्वका कथा नेपाललाई देखाउने, सुनाउने र सुनाउने मात्र होइन, नेपालका कथाहरू पनि विश्वले देख्ने र सुन्ने वातावरण बनाउनुपर्छ ।’
फेस्टिभलको औपचारिक समापन भए पनि नेपाली कथा र चलचित्रलाई विश्वमाझ पुर्याउने यात्रा निरन्तर रहने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




