साउदी अरेबियाद्वारा नेपाललाई १ सय ९१ रनको लक्ष्य

काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाविरुद्धको खेल जित्न १ सय ९१ रनको लक्ष्य पाएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया क्वालालम्पुर स्थित बायुमास ओभलमा ४९.२ ओभरमा १ सय ९१ रनमा अलआउट भयो ।
साउदी अरेबियालाई पराजित गरे नेपाल लगातार तेस्रो खेल जित्दै सेमिफाइनलमा पुग्ने छ । नेपालले पहिलो दुई खेलमा क्रमशः बहराइनलाई ७ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । साउदी अरेबियाले पहिलो ३ खेलमा १ मा जित हात पारेको छ भने २ मा पराजय भोगेको छ ।
साउदी अरेबियाबाट ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए । उनले ८९ बल खेली १० चौका र २ छक्का प्रहार गरे । ललित राजवंशीले ३० ओभरमा उनलाई एलबीडब्लु आउट गरेका थिए ।
नेपालबाट कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चे । नेपाली स्पिनरको नाममा ९ विकेट रहयो । सन्दीप बाहेक दीपेन्द्रसिंह ऐरीले ३ र ललितले २ विकेट लिए । अफ स्पिनर दीपेन्द्रले ९.२ ओभरमा ४३ रन खर्चे । देव्रेहाते स्पिनर ललितले १० ओभरमा ३ मेडन राख्दै २६ रन खर्चे ।
दीपेन्द्रले नेपालले तीब्र बलर हेमन्त धामीको स्थानमा शेर मल्ललाई खेलाएर स्पिन आक्रामणलाई अझ बलियो बनाएको थियो । अफ स्पिनर शेरले १० ओभरमा ३६ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका तीब्र बलर गुलशन झा केही महङ्गा साबित भए । उनले ४ ओभरमा ३४ रन खर्चेका थिए ।
गुलशनले मोहम्मद अतिफलाई ३० रनमा बोल्ड गरी अतिफ र वाहिदको साझेदारीलाई तोडेका थिए । कप्तान वाजि उल हसनलाई ललितले खेलको दोस्रो ओभरमै बोल्ड गरेपछि वाहिद र अतिफले दोस्रो विकेटमा ९४ रनको साझेदारी गरेका थिए । अतिफले ६८ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।
वाहिदलाई आउट गरेपछि नेपालले निरन्तर विकेट लिन सुरु गरेको थियो । मध्यक्रममा मोहम्मद हिसाम शेखले २८ रन बनाए । उनले ५० बल खेली १ चौका प्रहार गरे । अन्तिम जोडी मोहम्मद सकिब र इस्तियाक अहमदले २४ रन जोडेका थिए । अन्तिम ओभरमा सकिबलाई दीपेन्द्रले आउट गरे । उनले १३ बल खेली १ छक्कासहित १४ रन बनाए । इस्तियाक १४ बल खेली १० रनमा अवितिज रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




