सामाजिक सञ्जालबाट ठगी बढ्दो, साइबर अपराधका उजुरी २० हजार नाघे

काठमाडौं । नेपालमा साइबर अपराधसम्बन्धी उजुरीको संख्या एक वर्षमै २० हजार नाघेको छ। सामाजिक सञ्जालको दुरुपयोगसँगै बैंक तथा डिजिटल वालेट, अनलाइन रोजगारी, सपिङ, पार्सल, चिठ्ठा र प्रेमसम्बन्धका नाममा हुने ठगी बढ्दै गएको प्रहरीले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये १६१ वटा मुद्दा दर्ता भएको र १५५ जना पक्राउ परेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
साइबर अपराधसम्बन्धी उजुरी अघिल्लो वर्षको तुलनामा पनि बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६ र २०८०/८१ मा १९ हजार ७३० वटा निवेदन दर्ता भएका थिए।
फेसबुकपछि टिकटकबाट बढी उजुरी
दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसम्बन्धी ७ हजार १२३ छन्। त्यस्तै टिकटकबाट ६ हजार ७७६, ह्वाट्सएपबाट ३ हजार १०५ र टेलिग्रामबाट १ हजार ३१ वटा उजुरी परेका छन्।
इन्स्टाग्रामबाट ६२८, इमेलबाट ११४, युट्युबबाट ६४, इमोबाट ३८, भाइबरबाट २१, वीच्याटबाट १४ तथा ट्वीटर र गुगलबाट ११–११ वटा उजुरी दर्ता भएका छन्।
इसेवा, खल्ती, बैंक खाता र एसएमएससँग सम्बन्धित साइबर अपराधका ७४४ वटा निवेदन परेका छन्। संस्थासम्बन्धी उजुरीको संख्या ८४६ रहेको छ।
बैंक र वालेट कर्मचारी बनेर ठगी
साइबर ब्यूरोका अनुसार पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखिएका छन्। बैंक तथा वालेट कार्यालयबाट फोन गरेको भन्दै ग्राहकलाई विश्वासमा लिएर बैंक खाता तथा डिजिटल वालेटमा पहुँच पुर्याउने र रकम निकाल्ने प्रवृत्ति बढेको छ।
त्यस्तै गिफ्ट, लट्री तथा पार्सल आएको भन्दै रकम असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने र वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम माग्ने घटना पनि बढेका छन्।
टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममार्फत अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने र अनलाइन सपिङका नाममा रकम असुल्ने प्रवृत्तिसमेत बढेको साइबर ब्यूरोले जनाएको छ।
ब्ल्याकमेलदेखि सोर्स कोडमा अनधिकृत पहुँचसम्म
सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने, चरित्र हत्या गर्ने, अकाउन्ट ह्याक गर्ने तथा अनधिकृत पहुँच पुर्याउने घटना पनि प्रहरीमा पुगेका छन्।
पछिल्लो समय सफ्टवेयर कम्पनीका सोर्स कोडमा अनधिकृत पहुँच पुर्याउनेजस्ता प्राविधिक प्रकृतिका कसुरसमेत देखिन थालेका छन्। यसले साइबर अपराध अनुसन्धानलाई थप जटिल बनाएको प्रहरीको भनाइ छ।
सामाजिक सञ्जालको प्रयोग विस्तारसँगै यसको दुरुपयोग पनि बढिरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले बताए।
एक वर्षमा १५५ जना पक्राउ
प्रहरीका अनुसार साइबर अपराधसम्बन्धी २० हजार ५२६ निवेदन दर्ता भए पनि मुद्दाको संख्या १६१ रहेको छ। ती मुद्दामा संलग्न १५५ जना पक्राउ परेका छन्।
प्रविधिबाट हुने अपराधको रोकथाम तथा अनुसन्धानका लागि नेपाल सरकारले २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरेको थियो। ब्यूरोले प्रविधि तथा जनशक्तिको क्षमता विस्तारसँगै नागरिकमा साइबर सुरक्षासम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
साइबर अपराधमा संलग्नलाई प्रचलित विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही हुने गरेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




